हुलाक बैंकको ५ करोड ३५ लाख रुपैयाँ अपचलन आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Corruption case against 6 people for misappropriation of 53.5 million rupees of Post Bank

काठमाडौँ — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन नायब सुब्बा बलीरामप्रसाद कुर्मी भनिने बलिराम प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कुर्मीविरुद्ध मंगलबार ५ करोड ३५ लाख ६४  हजार २ सय ७९ रुपैयाँ ३३ पैया बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

२०६० सालदेखि हुलाकमा कार्यरत कुर्मीले पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । हुलाक कार्यालय बारामा नासु पदमा कार्यरत रहँदा कुर्मीले हुलाक बचत बैंकको जिम्मेवारी सम्हालेका थिए ।

त्यसक्रममा बलिराम प्रसादले 'बचतकर्ताहरूको पासबुक तथा लेजर बुकमा कार्यालयको दैनिक नगदी रजिस्टरमा नजनाई, प्रविष्टि नगरी, बैंक दाखिला नगरी, केन्द्रीय कार्यालयमा जानकारी नगराई हुलाक बचत बैंक नियमावली, हुलाक सेवा कार्यविधि निर्देशिका, हुलाक बचत बैंक कार्य सञ्चालन निर्देशिकाले निर्देश गरेको कार्यविधि एवं जिम्मेवारी समेतको पालना नगरी तत्कालीन कार्यालय प्रमुखहरुसँग मिलेमतो गरी बचतकर्ताहरुको बचत गर्नुपर्ने रकम अपचलन गरेको' आरोपत्रमा उल्लेख छ । 

यसैगरी जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध पनि त्यति नै बिगो कायम गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिवादीहरूले हुलाक बैंकमा जम्मा भएको बचतकर्ताको पैसा बलिराम प्रसादसँग मिलेर आपसमा बाँडेर खाएको आरोपत्रमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully