बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Attention to flood risk mitigation

काठमाडौँ — वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरूले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्‍याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे।

सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतसम्भारको काममा ढिलाइ भइरहेको बताए।

त्यस्तै, बीपी राजमार्गमा अहिलेसम्म सहज रूपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उनले उठाए। सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताए। त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाए।

सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेथिति बढेकोमा सरकारको ध्यानाकर्षण गराए। विमानस्थल अस्तव्यस्त बनेको, ठाउँ साँघुरो भएकाले यात्रु तथा सामानको असुरक्षा बढेको उनको भनाइ थियो।

सांसद चन्द्रबहादुर विश्वकर्माले सडक दुर्घटना बढेको विषय संसदमा उठाए। त्यस्तै, जाजरकोट जिल्ला कारागारमा कैदीले आत्महत्या गरेको घटनाको छानबिन गर्न उनले माग गरे।

कान्तिपुर

Link copied successfully