ताप्लेजुङ — विश्वको तेस्रो अग्लो (८,५८६ मिटर) उचाइको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक विदेशी आरोहीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले दिएको जानकारीअनुसार फ्रान्सकी ६३ वर्षीया मारगेटा मोरिङको स्वाशप्रश्वासमा समस्या आई मृत्यु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर दुई जना फ्रान्सेली नागरिक कञ्चनजंघा आरोहणका लागि गएका थिए ।
कञ्चनजंघा हिमालको दक्षिणी मोहडाबाट आरोहण गर्ने क्रममा ८ हजार मिटर उचाइमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहीको शव ७ हजार ५ सय मिटरमाथि नै रहेको याम्फुदिन प्रहरी चौकीले जानकारी दिएको छ ।
