काठमाडौँ — शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
'तीनकुने घटनाको अनुसन्धानका लागि उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उहाँ फरार हुनुहुन्थ्यो । आज सुकेधारा क्षेत्रबाट उहाँलाई पक्राउ गरिएको हो,' एसपी बोहराले भने । बस्नेतलाई म्याद थपका लागि केही बेरमा अदालत लगिँदैछ ।
व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर गत चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
