काठमाडौँ — कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकता उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेपछि महतको उक्त प्रतिक्रिया आएको हो ।
संघीय संसद् परिसर नयाँ बानेश्वमा महतले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढंगले नहुनु भएको बताएका हुन् । प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने पनि उनले बताए ।
'हाम्रो अर्थतन्त्रको मूल समस्या भनेको बजेट विनियोजन र कार्यान्वयनको हो । बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा कति सुदृढ ढङ्गबाट दृढताका साथ अर्थमन्त्री खडा हुनुहुन्छ, त्यसले निर्धारण गर्छ,' महतले भने, 'हाम्रो समस्या भनेकै विनियोजन ठिक ढंगले भएको छैन । जहाँ खर्च गर्नुपर्ने हो, त्यहाँ खर्च गर्न सकेका छैनौँ । जहाँ खर्च नगरे पनि हुने हो, त्यहाँ ज्यादा खर्च भइराखेको छ । थोरै-थोरै रकम जताततै छरिएको छ ।'
आगामी बजेटमा योजना प्रथमिकीकरण गर्नुपर्ने पनि महतको भनाइ थियो । 'अर्थमन्त्रीले अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्छौं भन्नुभएको छ । आउने बजेटमा हेर्न बाँकी छ कि भने अनुसार कति लक्षित किसिमबाट विनियोजन हुन्छ । सीमित स्रोत र साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने अवस्था र प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि उहाँहरूले गम्भीर होमवर्क पनि गर्नुपर्दछ । अनेकौँ खाले दबाबहरूलाई झेल्न पनि सक्नुपर्छ,' उनले भने ।
सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि अर्थमन्त्रीले गृहकार्य गर्नुपर्ने महतको भनाइ थियो ।
