पाँच विदेशीसहित १० जनाले गरे कञ्चनजंघा हिमालको आरोहण

वैशाख २८, २०८२

आनन्द गौतम

Ten people, including five foreigners, climbed Kanchenjunga Himal

ताप्लेजुङ — पाँच विदेशीसहित १० जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन् । आफ्नो कम्पनीबाट गएकाहरु शनिबार दिउँसो हिमाल आरोहण गरेर फर्कने क्रममा रहेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघा नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल हो । 

आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा रहेका छन् । लाक्पा तेम्बा शेर्पाले उनीहरुलाई मुख्य गाइड गरेको उनले जानकारी दिए । 

यस वर्ष नेपाल र भारतको संयुक्त सैन्यसहित यो हिमाल आरोहण गर्ने विदेशीको सङ्ख्या उल्लेख्य रहेको छ । इलाइट एक्सपिडिसन काठमाडौंका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार अरु ६३ जना आरोही र उनीहरुका गाइड हिमाल आरोहणका लागि कञ्चनजंघा क्षेत्रमा छन् । त्यसमा १५ जना महिला आरोही रहेको शेर्पाले जानकारी दिए । 

यस वर्ष इलाइट कम्पनीले यहाँको बाटो बनाएको थियो । आफ्नो कम्पनीका ९ जना यसअघि ४० मिटर नजिकसम्म पुगेर फर्किएको उनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully