छैटौँ जुम्ला रारा म्याराथनको उपाधि दलबहादुर र कल्पनालाई

वैशाख २८, २०८२

डीबी बुढा

Sixth Jumla Rara Marathon title to Dal Bahadur and Kalpana

जुम्ला — जुम्लाको सदरमुकाम खलंगादेखि शनिबार सुरु भएको छैटौँ जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि कर्णाली खेलकुद क्लबका दलबहादुर कुँवरले जितेका छन् । पुरुष तर्फ कुँवर र महिलातर्फ कर्णाली खेलकुद क्लबकै कल्पना बुढाले उपाधि चुमिन । 

तातोपानी गाउँपालिका ७ का २३ वर्षीय कुँवरले ५१ किलोमिटर दूरी ५ घण्टा ५३ मिनेट ५७ सेकेन्डमा पार गरेका थिए । जुम्ला रारा म्याराथनको पाँचौँ संस्करणमा समेत उपाधि चुमेका कुँवरको पोल्टामा छैटौँ म्याराथनको उपाधि पनि हात परेको हो । कुँवर कर्णाली खेलकुद क्लबका धावक हुन् ।  महिला र्फ कर्णाली खेलकुद क्लबकी धावक कल्पना बुढाले निर्धारित दूरी ७ घण्टा ५१ मिनेट ३१ सेकेन्डमा पार गरेर उपाधि चुमिन् । 

पुरुष तर्फ नेपाली सेनाका सुबेदार होमलाल श्रेष्ठ द्वितीय र तृतीय स्थान कर्णाली खेलकुद क्लबका सोमबहादुर रावत हासिल गरे ।  ४२ वर्षीय वर्षका श्रेष्ठले ६ घण्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पार गरे । तृतीय हुने सोमबहादुर रावतले ६ घण्टा १० मिनेट ०४ सेकेन्डमा पार गरे ।

चौथोमा कर्णाली खेलकुद क्लबका चन्द्रबहादुर रावतले ६ घण्टा १९ मिनेट २८ सेकेन्डमा दूरी पार गरे । ६ घण्टा ३१ मिनेट ४२ सेकेन्डमा दूरी पारगर्दै शेरबहादुर बुढा पाँचौँ स्थान पक्का गर्न सफल भए । 

महिलातर्फ उपविजेता जुम्लाकै २० वर्षीय राज्यलक्ष्मी रावल भइन । उनले ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड उक्त दूरी पूरा गरिन् । ८ घण्टा ४६ मिनेट २ सेकेन्ड लगाउँदै सन्दिपा बुढा तृतीय भइन् । चौथो भएकी पुसा बुढाले ९ घण्टा ३७ मिनेट ०७ सेकेन्ड,पाँचौँ हुन सफल अनिशा गुरुङले ११ घण्टा ७ मिनेट २५ सेकेन्डमा दूरी पार गरिन । जुम्ला रारा अल्ट्रा म्याराथनमा विजेता धावक धाविकालाई रारा तालको छेउमा पुरस्कार प्रदान गरिएको थियो । प्रथम हुनेलाई एक लाख,द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ नगद प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । चौथो हुने धावकलाई ३५ हजार पुरस्कार दिइएको थियो । 

कर्णालीमा साहसिक खेल पर्यटनको विकास गर्न तथा विश्व सामु कर्णाली चिनाउन निरन्तर आयोजना भइरहेको म्याराथनले खेलाडीहरूमा उत्साह थपिएको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।  जुम्ला रारा अल्ट्रा म्याराथनमा ५९१ जना खेलाडीले भाग लिएका थिए । जसमध्ये ४ जना विदेशी खेलाडी थिए । नेपालका १० जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए । 

विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायाले जुम्ला रारा म्याराथन दौड मात्र नभएर साहसिक पर्यटनको गन्तव्य बन्न सक्ने बताए । उनले भने, ‘यहाँ आउने खेलाडीहरू दौड मात्र आइरहेका हुँदैनन् । कर्णालीको सुन्दरता सँग रमाउन पनि आइरहेका हुन्छन् । यो म्याराथन उनीहरूका लागि राम्रो माध्यम बनेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully