कर्मचारीतन्त्रको अगाडि सांसदको केही नलाग्ने रहेछ : तामाङ

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

In front of the bureaucracy, the parliamentarians will be useless: Tamang

काठमाडौँ — राप्रपा सांसद बुद्धिमान तामाङले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि छलफल गर्दा कर्मचारी हाबी भएको बताएका छन् । कानुन निर्माणमा सांसदहरूमाथि कर्मचारीतन्त्र हाबी भएको भन्दै तामाङले दिक्दारी व्यक्त गरेका हुन् । 

राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०'को अन्तिम मस्यौदा प्रतिवेदनमा छलफल भइरहेको छ । सांसद तामाङले कर्मचारीमा ट्रेड युनियन राख्ने, कुलिङ पिरियड राख्ने र अवकाशको उमेर ५८ बाट ६० वर्ष बनाउनेलगायतका विषयमा कर्मचारीतन्त्र हाबी भएको बताएका हुन् । 

सांसद तामाङले ट्रेड युनियनको सम्बन्धमा आफूले लिखित रूपमा फरक मत राख्ने जानकारी समिति सभापति रामहरि खतिवडालाई जानकारी गराएका छन् । 

'कर्मचारी ट्रेड युनियन राख्नु हुँदैन । राख्नैपरेमा आधिकारिक रूपमा सुब्बासम्म राख्ने हो कि भन्ने भएको हो । संशोधन दर्ता गर्ने सांसदले पनि राख्न हुन्न भन्नुभएको छ । तर, संशोधन राख्ने सांसद, विज्ञ र लोकसेवाको कुरा सुनेनौं,' तामाङले भने, 'सचिव बनाउने खरिदारले उम्मेदवार बोकेर हिँडेको हुन्छ भनेर यहाँ भन्नुभयो । नीति निर्माणको तहमा पनि बस्ने अनि ट्रेड युनियनमा पनि बस्ने ? कर्मचारीसंयन्त्रको अगाडि सांसदको केही पनि नलाग्ने रहेछ । टाउकोले पुच्छर हल्लाउने होइन, पुच्छरले टाउको हल्लाउने भयो ।'

राष्ट्रको ढुकुटीबाट तलब खाने व्यक्तिहरूले राजनीतिक दल आबद्ध ट्रेड युनियन खोल्न नहुने तामाङको भनाइ थियो । 'राष्ट्रको तर्फबाट तलब खानेले युनियन बनाउनु हुन्न । म त्यसमा नोट अफ डिसेन्ट राख्छु,' उनले भने । 

कान्तिपुर

Link copied successfully