३ करोड रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप
काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणका सब- इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
पौड्यालले मिति २०५१/०१/०९ गतेदेखि मिति २०८०/०३/३१ गतेसम्मको अवधिमा कमाएको र खर्च हिसाब गर्दा ३ करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँको हिसाब नखुलेको पनि आयोगले जनाएको छ ।
उनीविरुद्ध अख्तियारले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना माग गरेको छ ।
