धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा आइतबार बिहान बस र ईभी हायस (माइक्रो) जुध्दा पाँच यात्रु घाइते भएका छन्
धकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ज ४२७६ नंबरको हायस र विपरीत दिशाबाट आएको प्रदेश नं.१–०२–००२ ख ०३७३ नम्बरको बस बिहान सवा ११ बजे जुधेका थिए ।
घाइते हुनेहरुमा सुनसरीको सामधुनी-३ की जानुकादेवी खतिवडा, भोजपुर नगरपालिका-१० का अमिर राई, हर्कबहादुर राई, सोफिया राई र हायसका चालक भोजपुर-८ का विपिन नेपाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।
बस चालक सुनसरी इटहरी उपमहानगरपालिका-१७ का कुलबहादुर मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । बसमा सवार सबै यात्रु भने सकुशल छन् ।
