सरकार रुझेको बिरालोजस्तै भइसक्यो : अध्यक्ष दाहाल

वैशाख २७, २०८२

लक्ष्मी गौतम

The government has become like a mad cat: President Dahal

पाँचथर — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  वर्तमान सरकार रुझेको बिरालो झैं शक्तिहीन भइसकेको टिप्पणी गरेका छन् । सरकारको आवरणमा पहिलो र दोस्रो दल कांग्रेस र एमाले रहे पनि सरकार चलाउने पर्दा पछाडि अरु थुप्रै स्वार्थ केन्द्र सक्रिय रहेको उनको भनाइ छ । 

माओवादी केन्द्रले शनिबार पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले मुलुक र जनताका पक्षमा काम गर्न नसकेको बताए । उनले अब सरकारको आयु पनि पूरा हुनै लागेको उनले दाबी गरे ।

‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो, भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुँजीपतिलाई त्यो सैहृय भएन, स्वार्थ केन्द्रहरुले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैं ढल्छ, हामीले ढालिरहनु पर्दैन,’ उनले भने ।

२०६४ सालमा जनताले विश्वास गरेर माओवादीलाई बहुमत दिएको स्मरण गर्दै उनले आफ्नो नेतृत्वमा रहेको पार्टीले इतिहासका कालखण्डमा जानी-नजानी गरेका त्रुटिका कारण पुनःजनताको विश्वास गुमाएको स्विकारे । ‘सायद जनमतको कदर हुन सकेन, त्यही भएर जनताले हामीलाई पनि कांग्रेस एमालेजस्तै देख्न थाले, कांग्रेस एमालेलाई पहिलो दल बनाउन हामीले पालै पालो बैशाखी बन्यौ, उनीहरु सधैं हामीलाई सिध्याउन लागि परिरहे, अहिले हामीलाई हिमाल पहाड तराईका जनताको दर्बिलो साथ छ, २०८४ मा कसैको बैशाखी नटेकी पहिलो दलका रुपमा स्थापित हुन्छौं,’ उनको दाबी थियो । 

The government has become like a mad cat: President Dahal

वर्तमान सरकारको अक्षमता पनि माओपादीको संगठन सुदृढीकरणको आधारशिलाका रुपमा स्थापित हुन थालेको दाहालको टिप्पणी थियो । करिब आधा घण्टा लामो भाषणमा दाहालले आफू प्रधानमन्त्री हुँदा तमोर करिडोर, उत्तर दक्षिण लोकमार्ग र उज्यालो नेपालजस्ता गौरवका आयोजना सुरु भई अगाडि बढेको, पुष्पलाल मध्यपहाडी लोकमार्गसहित राष्ट्रिय गौरवका थुप्रै आयोजना सञ्चालनका लागि पहल गरेको भन्दै आफ्नै तारिफमा केही मिनेट खर्चिए ।

माओवादीले पछिल्लो समय सञ्चालन गर्दै आएको तराई/मधेस र सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रा र पार्टी संगठन सुदृढीकरणका विषय चर्चा गर्दै एकजुट भएर २०८४ को निर्वाचन तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले पाथीभरामा केबल कार निर्माणका विषयमा भइरहेको विवाद वार्ताबाटै समाधान गर्न सरकार प्रतिबद्व हुनुपर्ने र कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः नामकरण गर्न माओवादीलाई जिताउनै पर्ने जिकिर पनि गरे ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully