काठमाडौँ — परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन् । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै उनले भनिन्, 'स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्छ । त्यसैले प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।'
नागरिकको वाक् तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्यक र महत्वपूर्ण रहेको बताउँदै उनले यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन् । वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो । 'संविधानले मौलिक हकअन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ,' उनले भनिन् ।
फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यतामा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको अवस्थामा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक आवाजका लागि मञ्च प्रदान गर्ने उनको भनाइ थियो । उनले मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।
