काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छिन् । मन्त्री राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन् ।
नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको परराष्ट्रमन्त्री राणाले बताइन् ।
जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री राणाले जानकारी दिइन् । 'जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ,' उनले भनिन् ।
जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवादको सुरुआत गरेको र यस वर्षको यो पहिलो संस्करण रहेको पनि उनले बताइन् । मन्त्री राणाले यस संवादमार्फत जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताइन् ।
