स्वर्णिमको प्रश्न : दक्षिण एसियाली सपना कोमामा छ, ब्युँताउने हो कि मर्न दिने ?

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Swarnim's question: The South Asian dream is in a coma, should we wake it up or let it die?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिका लागि गहिरो अन्तरसम्बन्ध रहेको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले काठमाडौँमा सम्पन्न १८ औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको स्मरण गर्दै त्यसबेला आफैँले प्रस्ताव राख्ने अवसर पाएको उल्लेख गरे।

उनले शान्ति र समृद्धिका लागि आवश्यक गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना अहिले कोमामा रहेको भन्दै त्यसलाई कोमामै राख्ने, मर्न दिने कि ब्युँताउने भन्नेबारे निर्णय गर्नुपर्ने बताए ।

उनले तनहुँमा जन्मिएका सरदार यदुनाथ खनालले नेपाल–चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेकपोस्ट वार्ताबाट हटाउन सफल भएको स्मरण गराउँदै हालको सरकारबाट त्यस्तो अपेक्षा गर्न नसकिने बताएका थिए। उनले श्वेतपत्र आउने अपेक्षा नभए पनि त्यसको माग गर्ने इच्छा भने व्यक्त गरे ।

उनले भने, 'पछिल्लो १८ औँ सार्क शिखर सम्मेलन यही काठमाडौँमा भएको थियो। १० वर्ष नाघिसक्यो। त्यतिखेर कुन थिम राख्ने भन्नेबारे मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिएँ। शान्ति र समृद्धिका लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एसियाली सपना आज कोमामा छ। कोमामै राख्ने हो कि, मर्न दिने हो कि, यसलाई ब्युँताउने हो—यसबारे हामीले निक्र्यौल गर्नुपर्छ। '

उनले हालको सरकार र नेतृत्वबाट राम्रो कुराको आशा र अपेक्षा गर्न नसकिने टिप्पणी गरे ।

कान्तिपुर

Link copied successfully