नीति तथा कार्यक्रमको आलोचनामा एमाले सांसद रोस्ट्रममा 'मौन'

भौतिक पूर्वाधार विकासमा ध्यान दिइए पनि सामाजिक विकासलाई नजरअन्दाज गरिएको सांसद विश्वकर्माको तर्क

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

'Silence' at UML MP's rostrum on criticism of policies and programs

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आलोचना गर्दै एमालेका सांसद रोस्ट्रममा मौन रहेका छन् । सरकारको नेतृत्व गरिरहेको एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा रोस्ट्रममा मौन रहेर आलोचनात्मक समर्थन गरेका हुन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन पाँच मिनेटको समय पाएका विश्वकर्माले आफ्नो प्रतिक्रियास्वरुप मौनधारण गरेका हुन् ।

'राष्ट्रपतिले वैशाख १९ मा यस सदनमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो । त्यो सम्बोधनपश्चात् यो गरिमामय संसद्मा आफ्ना क्रियाप्रतिक्रिया व्यापक रुपमा अगाडि बढिरहेको छ, छलफल भइरहेको छ,' उनले भने, 'मैले पनि त्यो प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु । त्यसैले प्रतिक्रिया दिन चाहन्छु ।' यत्ति भनेर सांसद विश्वकर्मा मौन रहेका थिए ।

सभामुखबाट पाएको पाँच मिनेटमध्ये सुरुको एक मिनेट बोलेका उनी बाँकी समय मौन रहे । आफूले पाएको समय सकिने बेला उनले धन्यवाद भनेर रोस्ट्रम छाडे । 

आफूले त्यसो गर्नुको कारण नीति तथा कार्यक्रमको आलोचना रहेको सांसद विश्वकर्माको भनाइ छ । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासमा ध्यान दिइए पनि सामाजिक विकासलाई नजरअन्दाज गरिएको उनको तर्क छ । 'भौतिक पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिएको छ । भौतिक विकास हुँदा सामाजिक विकासमा टेवा पुर्‍याउँछ तर मुख्य कुरा सामाजिक विकास हो । यो सामाजिक विकासको निम्ती कुरा उठाउँदै आएको थिए । नेताहरूले भाषण गरेका पनि हुन् । पार्टीका दस्ताबेजमा पनि छ,' उनले भने, 'तर, राज्यको नीति तथा कार्यक्रममा आउँदा ओझेल परे । भौतिक विकाससँगै समाजिक विकासमा ध्यान दिएको नीति तथा कार्यक्रम नपाएकाले मौन समर्थन गरेको हो ।'

नेपालमा व्यवस्था बदलिए पनि परम्परागत अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको सांसद विश्वकर्माको भनाइ थियो । नीति तथा कार्यक्रममाथि संसद्मा छलफल भइरहेको तर बजेट निर्माण कार्य भने सम्पन्न भइसकेकाले पनि मौन विरोध गर्नुपरेको उनको भनाइ छ । 'नीति तथा कार्यक्रम संसद्मा पेस भएर छलफल भइरहेको छ, अर्कोतिर बजेट निर्माण भइसकेको छ । नीति तथा कार्यक्रम पास भएपछि बल्ल बजेट पास हुनुपर्ने हो,' उनले भने ।

जातीय विभेद अन्त्य गर्ने नीति तथा कार्यक्रम नपाएकाले पनि आफू मौन रहनुपरेको सांसद विश्वकर्माको भनाइ छ । भूमिहीन, सुकुम्बासी, विपन्नताको परिभाषाका कुरा नीति तथा कार्यक्रमले नगरेकाले पनि मौन रहनुपरेको बताएका उनले संविधानले व्यवस्था गरेको आर्थिक नीतिको विपरीत नीति तथा कार्यक्रम आएको पनि बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully