सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छ : विनोद चौधरी

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Parliamentarians should be empowered, not with funds: Vinod Chaudhary

काठमाडौँ — नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन्। शुक्रबार बसेको प्रतिनिध सभाको बैठकमा बोल्दै उनले सांसद कोषको कुरा भइरहने बताउँदै सांसदलाई कोष नभई अधिकार सम्पन्न बनाइनु पर्ने उल्लेख गरे।

उनले आफ्नो क्षेत्रका अधुरा परियोजनाहरू पूरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाउनु महत्त्वपूर्ण रहेको दोहोर्‍याए। उनले निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष बितिसक्दा पनि पाइपको अभावले जनताले अझै पानी खान नपाएको उदाहरण दिँदै यस्ता कैयौँ समस्या रहेको बताए।

उनले कुनै निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरूको मूल्याङ्कन, अनुगमन र बजेट अभावका सन्दर्भमा सम्बन्धित मन्त्रालयको पर्याप्त सहयोग नपाएसम्म शृङ्खलाबद्ध रूपमा विकास अगाडि बढ्न नसक्ने धारणा राखे।

उनले भने, 'सांसद कोषको कुरा हुने गर्छ, सांसदलाई फन्ड होइन, अधिकार सम्पन्न बनाउनु हो। कुनै सांसदले आफ्नो क्षेत्रका अधुरा प्रोजेक्टहरू पूरा गर्न सांसदलाई अधिकार सम्पन्न बनाइनुपर्छ। ट्याङ्की बनेको १० वर्ष भयो, तर पाइपको अभावले जनताले पानी खान सकेका छैनन्। तर त्यो कुरा सांसदको जिम्मेवारीमा पर्दैन। निर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनाहरू — चाहे त्यो स्थानीय, प्रदेश वा सङ्घीय तहकै होस् — मूल्याङ्कन, अनुगमन नगर्ने हो र बजेट अभाव भएमा सम्बन्धित मन्त्रालयहरूले हात बलियो नपार्ने हो भने शृङ्खलाबद्ध ढङ्गमा विकास प्रक्रिया अगाडि बढ्न सक्दैन।'

उनले रोजगारीका लागि दैनिक तीन हजारको सङ्ख्यामा नेपालीहरू बिदेसिनु परेकोतर्फ चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

कान्तिपुर

Link copied successfully