भारत र पाकिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहन सरकारको आग्रह
काठमाडौँ — परिचयपत्र बाहक यात्रुलाई मात्रै नेपाल–भारत आवागमन गराउन सरकारले परिपत्र गरेको छ । पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तान युद्धमा उत्रिएपछि सिर्जित परिस्थितिलाई दृष्टिगत गरी गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा जोडिएका दक्षिणतर्फका नाकाबाट आवागमन गर्दा यात्रुलाई परिचयपत्र अनिवार्य गरेको हो ।
भारततर्फका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विशेष निगरानी बढाउन गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र दक्षिणतर्फ सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहको परिपत्रपछि नेपाल प्रहरी र सशस्त्रले सीमा नाकामा सुरक्षा गस्ती र जाँच पनि बढाएका छन् ।
सशस्त्रका साढे दुई सय बोर्डर आउट पोस्ट (बीओपी) मार्फत सीमा सुरक्षार्थ जनशक्ति तैनाथ गराइएको छ । प्रहरीका ६० भन्दा बढी सीमा इलाका युनिटमार्फत सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा जनशक्ति तैनाथ छन् । यसका अतिरिक्त पछिल्लो घटनाक्रमपछि अरू युनिटबाट पनि दुवै संगठनले सीमा क्षेत्रमा गस्ती बढाएका हुन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत–पाकिस्तान बढ्दो तनाव र त्यसबाट नेपाललाई पर्न सक्ने असरका विषयमा चारवटै सुरक्षा निकायका अधिकारीले ब्रिफिङ गरेका थिए । त्यसअघि केन्द्रीय सुरक्षा समिति बैठकमा घटनाक्रमबारे समीक्षासमेत गरिएको थियो ।
प्रधानमन्त्रीलाई ब्रिफिङ र गृहमन्त्री रमेश लेखकसहितको सुरक्षा बैठकपछि गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सीमाबाट आवागमन गर्दा परिचयपत्र अनिवार्य गराएर यात्रुको गन्तव्य खुल्ने गरी अभिलेख राख्न भनेको हो । गृहको परिपत्रसँगै सम्बन्धित यात्रु कुन ठाउँबाट आएको, गन्तव्य कुन ठाउँ हो, प्रयोजन के हो लगायत विवरण अभिलेखमा समेटिएको एक सुरक्षा अधिकारीले बताए ।
पछिल्लो विकसित घटनाक्रमलाई विश्लेषण गरेर सीमाक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जनाए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सुरक्षा सावधानी अपनाउन आवश्यक निर्देशन दिइसकेका छौं,’ उनले भने ।
भारत–पाकिस्तान तनावबारे शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा पनि सुरक्षा अधिकारीबीच समीक्षा बैठक बसेको थियो । बैठकमा सबै निकायले आ–आफ्ना तर्फबाट तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने निष्कर्ष निकालिएको स्रोतको भनाइ छ । सीमा क्षेत्रमा अनुमतिबिना प्रवेश गर्न सक्ने जोखिमलाई ध्यानमा राखेर जिम्मेवारी निर्वाह गर्न मातहत संयन्त्रलाई अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले निर्देशन दिइएको जनाए ।
यही वैशाख ९ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंकवादी समूहले गरेको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । पहलगाम भारतको श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थलका रूपमा परिचित पहलगाममा बन्दुधकारी आतंकवादी समूहले हत्या गरेकामा त्यसको लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले जिम्मा लिएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच उत्पन्न तनाव अहिले आक्रमणम–प्रत्याक्रमणमै प्रवेश गरेको छ ।
दुई देशबीच द्वन्द्व चर्किंदै जाँदा नेपालमा पनि घूसपैठ हुन सक्ने जोखिम आकलन गर्दै सरकारले हवाई र स्थल गरी दुवै अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सावधानी अपनाएको हो । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम छ । भारतसँग खुला सिमाना भएकाले आवामगन व्यवस्थापन र अभिलेख प्रणाली अव्यवस्थित छ ।
चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा रहेकामा भिसा बाहक व्यक्ति मात्रै आवागमन गर्न पाउने भएर भारततर्फ जस्तो आवागमन व्यवस्थापनमा चुनौती छैन । भारतबाट खासगरी ठूला, मध्यम र छोटी नाकासहित राज्यको उपस्थिति नै नभएका नाकाबाट हुने आवागमन व्यवस्थापन चुनौतीपूर्ण छ ।
बर्मामा सेनाले शासन–सत्ता हातमा लिएसँगै त्यहाँबाट लखेटिएका रोहिंग्याको केही समूह भारत हुँदै सन् २०१२ मा नेपालसम्म आइपुगेको थियो । त्यसपछि गिरोहले म्यानबारबाट लखेटिएका रोहिंग्याको समूहलाई रकम असुलेर बंगलादेशबाट भारत हुँदै नेपालसम्म ल्याएको खुलेको थियो । बेलैमा सीमा क्षेत्रमा सुरक्षा सावधानी नअपनाउँदा घूसपैठ गरेर भित्रिएका रोहिंग्याको संख्या नेपालमा मात्रै ५ सयभन्दा बढी पुगेको सुरक्षा अधिकारी बताउँछन् ।
बेघरबार र बेरोजगार समूहलाई आतंकवादी गतिविधिमा संलग्न व्यक्ति तथा समूहले दुरुपयोग गर्न सक्ने भएकाले यसप्रति विशेष निगरानी राख्नुपर्ने अवस्था रहेको एक सुरक्षा अधिकारीले जनाए । २०७८ साउनमा अफगानिस्तानमा विद्रोही तालिवानी समूहले सत्ता कब्जा गरेपछि त्यहाँबाट विस्थापित ठूलो संख्यामा अफगानिस्तानी नागरिक भारत हुँदै नेपाल छिर्ने प्रयासमा थिए ।
सुरुमा सानो समूह भारतमा ‘नक्कली आधारकार्ड’ नै बनाएर भारतीय नागरिकको भेषमा सहजै नेपाल छिरेका थिए । उक्त समूहका केही मानिस काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेपछि भारततर्फ सीमाबाट हुने आवागमन गर्ने यात्रुलाई परिचयपत्र अनिवार्य गरिएको थियो । करिब ३ महिनासम्म यसरी आवामगन गर्ने यात्रुको परिचयपत्र अभिलेख राख्न थालिएपछि घूसपैठ गरेर समूहमा छिर्ने क्रम रोकिएको थियो ।
गत कात्तिक पहिलो साता केही अफगानिस्ततानी नागरिक काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका थिए । गैरकानुनी घूसपैठबाट छिरेको पाइएपछि त्यस बेला सुरक्षा निकायले काठमाडौंसहित सीमा इलाका र अरू ठाउँमा विशेष अपरेसन चलाएका थिए । त्यही क्रममा नेपाल–भारत आवतजावत गर्न दुवै देशका नागरिकलाई नेपालले परिचयपत्र अनिवार्य गरेपछि घूसपैठ रोकिएको थियो । अहिले भारत–पाकिस्तान तनाव बढेसँगै सीमाबाट हुन सक्ने गैरकानुनी घूसपैठ रोक्न यात्रुलाई पुनः परिचयपत्र अनिवार्य गरिएको हो ।
भारत र पाकिस्तानमा रहेका नेपालीलाई ‘ट्राभल एडभाइजरी’
पहलगाम घटनासँगै भारत र पाकिस्तानबीच उत्पन्न असहज परिस्थिति र दुई देशबीच सैनिक तहमै एकअर्काविरुद्ध ड्रोन र लडाकु विमानबाट हानाहान सुरु भएपछि नेपाल सरकारले ती देशका रहेका नेपालीलाई सुरक्षित ठाउँमा रहन यात्रा निर्देशन (ट्राभल एडभाइजरी) जारी गरेको छ । त्यहाँ रहेका नेपालीलाई कुनै समस्या परे तत्काल सम्पर्क गर्न पनि सरकारले अनुरोध गरेको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले शुक्रबार दिउँसो सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । भारत सरकारका आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।
‘भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकका स्थान पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशिकाको पालना गर्न नेपाली राजदूतावास अनुरोध गर्दछ,’ दिल्लीस्थित नेपाली राजदूतावासबाट जारी जरुरी सूचनामा भनिएको छ, ‘साथै कुनै आपत्कालीन अवस्था आए यस राजदूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि (दिल्लीस्थित राजदूतावास र कोलकातास्थित महावाणिज्य दूतावासमा सम्पर्क गर्न) सम्पूर्ण सरोकारवालालाई सूचित गराइन्छ ।’
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीलाई पनि सुरक्षित रहन र कुनै सहयोग चाहिए इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । पाकिस्तानमा रहेका विद्यार्थी र सबै नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि परराष्ट्रले जनाएको छ ।
‘हालै विकसित घटनाक्रमका सदर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीको सुरक्षा एवं हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ, पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,’ शुक्रबार परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा तत्काल कुनै सहयोग आवश्यक परे नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ ।’
