न्यायमा आम नागरिकको सहज पहुँच स्थापित होओस् : राष्ट्रपति पौडेल

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

Ease of access to justice for common citizens should be established: President Paudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले व्यवस्था गरेका मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् ।

कानुन दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस दिनले न्याय र कानुनको क्षेत्रमा आबद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराइरहने पनि उनले विश्वास लिए ।

राज्यको कार्यकारणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप न्याय सम्पादनको कार्यको थालनी भएको हुँदा न्याय र कानून जगतमा यो दिनको विशेष महत्व रहेको उनले बताए ।

उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरिनुपर्ने भनाइ राखे । आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन, विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully