नेपालमा १२९ प्रजातिका ३३५ पुतली

बटरफ्लाई वाचर्स नेपालले सञ्चालन गरेको ५९ दिने ‘बिग बटरफ्लाई’ अभियानअन्तर्गत १३ जिल्लाका २५ ठाउँमा गणना

वैशाख २६, २०८२

मनोज पौडेल

335 butterflies of 129 species in Nepal

लुम्बिनी — नेपालमा १२९ प्रजातिका ३३५ पुतली पाइएका छन् । पुतलीको विविधता र संख्याबारे जानकारी लिने उद्देश्यसहित गरिएको ‘बिग बटरफ्लाई’ गणना अभियानले नेपालमा पाइने पुतलीको प्रजातिको संख्या र प्रकार पहिचान गरेको हो । 

बटरफ्लाई वाचर्स नेपाल, भक्तपुरले ३ मार्चदेखि सुरु गरेको ५९ दिने ‘बिग बटरफ्लाई’ अभियान अप्रिल ३० मा सकिएको छ । खोटाङ, कास्की, सुनसरी, लमजुङ, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सुर्खेत, कपिलवस्तु, धादिङ, झापा र कञ्चनपुर जिल्लाका २५ ठाउँमा पुतली गणना गरिएको थियो । 

अभियानमा स्वयंसेवी र संरक्षणको काममा ३२ जना गणक सहभागी थिए । उनीहरूले मुलुकको २५ ठाउँमा गरेको गणनामा १२९ प्रजातिका ३३५ पुतली गणना गरेका थिए । गणनामा विज्ञान, प्राणीशास्त्र र व्यवस्थापन संकाय अध्ययनरत स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी थिए । पुतलीप्रेमी फोटोग्राफर र फोटो पत्रकार पनि गणनामा सहभागी थिए ।

नेपालमा पाइने पुतलीका प्रजाति, पाइने क्षेत्र, संख्या र फोटो खिच्ने उद्देश्यले गणना अभियान चलाइएको बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीविद् सनेजप्रसाद सुवालले बताए । ‘यो तेस्रो अभियान हो,’ उनले भने, ‘यसको थिम बटरफ्लाई म्याराथन राखिएको छ ।’ गणनामा सहभागी हुनेले धेरैभन्दा धेरै पुतली गणना गरून् भनेर अभियानलाई ‘बटरफ्लाई म्याराथन’ नाम दिइएको उनले बताए । 

अभियानमा सबैभन्दा धेरै पुतलीको तस्बिर खिच्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । अमृत साइन्स क्याम्पस, काठमाडौंमा वातावरण विज्ञानमा स्नातक अध्ययनरत सिद्धार्थ सापकोटाले सबैभन्दा बढी तस्बिर खिचेर पहिलो पुरस्कार पाएका छन् ।

उनले पोखरा र काठमाडौं उपत्यकामा ६३ प्रजातिका ६८ पुतलीको फोटो खिचेका थिए । त्यस्तै, फ्रिलान्स नेचुरलिस्ट अञ्जुकुमारी ढकालले दोस्रो पुरस्कार जितेकी छन् । उनले १८ प्रजातिका २३ पुतलीको तस्बिर खिचेकी थिइन् । पुतली गणनामा साइटिस सूचीमा रहेका कमन वर्डविङ र विरलै देखिने लोपोन्मुख सिरिन पुतलीको पनि गणना गरिएको थियो । 

बटरफलाई वाचर्स नेपाल सोसल साइन्स बेस्ड सोसल मिडिया प्लेटफर्म हो । यसले पुतलीको अध्ययन अनुसन्धान, संरक्षण, सचेतना र शिक्षामूलक काम गर्दै आएको छ । मौसमका हिसाबले पुतली बढी देखिने समयमा अभियान चलाएर बढीभन्दा बढी सूचना संकलन गर्न अहिले गणना गरिएको वाचर्स नेपालले जनाएको छ । मार्च, अप्रिल, जुन र जुलाई महिनामा वन क्षेत्रमा पुतली र दुर्लभ पुतली बढी देखिन्छ । 

नेपालमा सबैभन्दा बढी ६ सय ९२ प्रजातिका पुतली पाइएको अभिलेख छ । यसअघिको दोस्रो पुतली गणनामा दुई सय ५० बढी प्रजातिका पुतली पहिचान भएको थियो । तराईदेखि हिमालको ७ हजार मिटरसम्म पुतली पाइएको रेकर्ड छ । 

वैज्ञानिकहरूका अनुसार विश्वमा पाइने पुतलीका ५ परिवार हेस्पिरडाई, प्यापिलिनोइडी, पिरिडी, लाइसिनिडी, रियोनिडी र निम्फालिडीकै पुतलीहरू नेपालमा पाइन्छन् । केही पुतलीहरू भने नेपालमा मात्र ‘रेकर्ड’ भएका छन् । विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर, केसरी हिन्द पुतली, नेपाल वाल, नेपाल स्किपर, नेपाल मेडो ब्लु र मनाङ मेडो ब्लु प्रजातिका पुतली नेपालमा मात्र पाइन्छन् । ग्रेक हकस्टिक सेलर, केसरी हिन्द पुतली, नेपालको गोदावरीमा र मनाङ मेडो ब्लु मनाङमा मात्र पाइन्छ । 

335 butterflies of 129 species in Nepal

नेपालमा पाइने सबैभन्दा ठूलो पुतली गोल्डेन वर्डविङ हो । यसको लम्बाइ १५० मिलिमिटरदेखि १९४ मिलिमिटर हुन्छ । यो साइटिसमा पनि सूचीकृत छ । यहाँ पाइने सबैभन्दा सानो पुतली स्मल ग्रास ज्वेल हो । यसको लम्बाइ १५ मिलिमिटर र २२ मिलिमिटरसम्म हुन्छ । नेपालमा सबैभन्दा बढी पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिचान भएका छन् । काठमाडौं उपत्यकामा गोदावरी र तराईको चितवन पनि पुतली बढी पाइने क्षेत्रमा गनिन्छ । 

वातावरणलाई मनमोहक बनाउने पुतलीले समाजपयोगी काम पनि गर्छ । यसले अप्रत्यक्ष रूपमा कृषि उत्पादन बढाउन सघाउँछ । अन्नबाली, तेलहन र फलफूलमा परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छ । फूलको रस चुस्दाचुस्दै भाले–पोथी फूलबीच परागसेचन भई उत्पादनमा राम्रो योगदान गर्छ । पुतलीले जलवायु परिवर्तनको सूचकका रूपमा पनि काम गर्छ । 

पुतली भेटिनु भनेको स्वस्थ वनको सूचक पनि हो । आकर्षक देखिने पुतलीले पर्यापर्यटनका लागि समेत भूमिका खेल्ने वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । ‘मौरीपछि सबैभन्दा बढी पुतलीले पोलिनेटरको काम गर्छ । संसारका ८० प्रतिशत खाद्यान्न उत्पादन गर्न परागसेचन आवश्यक पर्छ,’ उनले भने, ‘नभए उत्पादन हुँदैन । भोकमरी हुन्छ । यसले जनजीवन नै प्रभावित पार्छ । वातावरणलाई मनमोहक बनाउने पुतली समाजपयोगी काम पनि गर्छ ।’ 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully