श्रीमतीलाई बाटो कटाएर फर्कंदा श्रीमान्‌लाई गाडीले ठक्कर दियो  

वैशाख २५, २०८२

विवेक पोख्रेल

The husband was hit by a car while his wife was returning from the road

काठमाडौँ — बाटो काट्ने क्रममा ५४ वर्षका डोलप्रसाद चौलागाईंलाई गाडीले ठक्कर दिएको छ । गाडीको ठक्करबाट टाउको, छाती र करङमा गम्भीर चोट लागेर घाइते भएका चौलागाईंको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमतीलाई बाटो कटाएर फर्किने बेलामा चौलागाईंलाई अस्पताल नजिकै रिङरोडमा बा४ ख ८७९३ नम्बरको बसले बिहीबार दिउँसो करिब १ बजे ठक्कर दिएको थियो ।

‘मामा घरको हजुरबुबाको यही अस्पतालमा हर्नियाको अप्रेसन थियो । आमा (डोलप्रसादको श्रीमती) हजुरबुबालाई भेटेर फर्कने बेलामा बुबा आइपुग्नुभएछ,’ ग्रीनसिटी अस्पतालको अप्रेसन कक्षअघि भेटिएका डोलप्रसादका छोरा सुजन चौलागाईंले भने, ‘आमालाई बाटो कटाएर फर्कंदा बुबालाई गाडीले हान्यो ।’

डोलप्रसादको नयाँ बसपार्कमा कस्मेटिकको पसल छ । १५ वर्षसम्म विदेशमा श्रम गरेका डोलप्रसादको परिवारको अहिले आम्दानीको स्रोत भनेकै त्यही पसल मात्र हो । ‘बुबाले दुबई र बहराइनमा श्रम गरेर हामी दुई छोरा र एक बहिनीलाई पढाउनुभयो,’ सुजनले भने, ‘आराम गरेर बस्नु पर्ने बेलामा हाम्रो परिवारलाई के दशा लाग्यो ।’ 

२० वर् देखि काभ्रेबाट काठमाडौं आएको चौलागाईं परिवार मनमैंजुमा भाडाको घरमा बस्दै आएका छन् । डोलप्रसाद बिहान नवीकरण गरेको पासपोर्ट लिएर अस्पताल पुगेका थिए । छोरी अस्ट्रेलिया भएकाले उनी केही समयपछि छोरी भएको ठाउँमा जाने तयारी स्वरुप पासपोर्ट नवीकरण गरेका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully