भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक एवं कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित कम्तीमा ३१ को मृत्यु

वैशाख २५, २०८२

बुद्धिसागर मरासिनी

Missile attack by India on Pakistan

काठमाडौँ — भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ ।

पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्री, कर्णेल सोफिया कुरेसी र विङ कमान्डर व्योमिका सिंहले अपरेसनको विवरण सार्वजनिक गरेका थिए । उनीहरूका अनुसार भारतीय सेनाले बुधबार बिहान १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म हमला गरेको हो । पाकिस्तानका ९ स्थानमा रहेका ‘आतंककारी संरचना’ लाई निसाना बनाइएको भारतको दाबी छ ।

लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्ष्य गरिएको थियो । भारतीय सेनाकी विङ कमान्डर सिंहका अनुसार मुजफ्फराबादस्थित सवाई नल्लाह र सेधना बिलाल क्याम्प, कोटलीस्थित मर्काज अब्बास र मस्कर राहिल शाहिद गुलपुर क्याम्प तथा भिम्बेरस्थित मर्काज अहल हादिथमा हवाई हमला गरिएको थियो । सियालकोटस्थित सरिजल र मेहमुना जोया क्याम्प, बहावलपुरस्थित मर्काज सुबहन अल्लाह र मुरिदकेस्थित क्याम्पलाई पनि भारतीय सेनाले निसाना बनाएको थियो । 

मुजफ्फराबाद पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो । कोटली र भिम्बेर भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा ‘एलओसी’ नजिकै पर्छन् । कश्मीरबाट ४८ किलोमिटरमा पर्ने सियालकोट र १ सय १५ किलोमिटरमा पर्ने शकरगढ पञ्जाब प्रान्तका सहर हुन् । 

पञ्जाब प्रान्तकै बहावलपुर र मुरिदके क्रमशः ५ सय ५७ र १ सय ९२ किलोमिटरको दूरीमा छन् । ‘पहलगाम हमलाको प्रत्यक्ष बदलामा आतंकवादीका ९ क्याम्पलाई लक्ष्य गरी हमला गरिएको हो र ती सबै ध्वस्त भएका छन्,’ सिंहले भनिन् । पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जना मारिएको र ५७ जना घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय हमलालगत्तै पाकिस्तानी सेनाले गोलीबारी गर्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको बीबीसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाका अनुसार ज्यान गुमाउनेहरू सबै भारत प्रशासित कश्मीरको पुँछ जिल्लाका हुन् । पुँछ ‘एलओसी’ नजिकै पर्छ ।

पाकिस्तानी सेनाले पाँच भारतीय विमान र एक ड्रोन खसालेको दाबी गरेको छ । तर यसको पुष्टि हुन सकेको छैन । पाकिस्तानको दाबीबारे भारतले कुनै प्रतिक्रिया जनाएको छैन । 

भारतीय हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको हमलामा उनीहरूको ज्यान गएको हो । 

Missile attack by India on Pakistan

जैस–ए–मोहम्मदका तर्फबाट बुधबार जारी विज्ञप्तिअनुसार अजहरका दिदी र भिनाजु, भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाको ज्यान गएको छ । हमलामा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको जैस–ए–मोहम्मदले जनाएको छ । जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको ज्यान गएको थियो । 

विश्वसनीय गुप्तचर जानकारीका आधारमा सर्वसाधारणको ज्यान र पूर्वाधारलाई क्षति नपुग्ने गरी ‘अपरेसन सिन्दूर’ चलाइएको भारतीय सेनाका विङ कमान्डर सिंहको भनाइ छ । ती स्थानमा पाकिस्तानी सेना र आईएसआईले ‘आतंककारी’लाई तालिम दिन विशेष सेवा समूह परिचालन गरेको भारतीय अधिकारीहरूले दाबी गर्दै आएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरिएकामा भारतीय सशस्त्र बलहरूको प्रशंसा गरेका छन् । पहलगाम घटनापछि मोदीले हमलाकारीलाई पृथ्वीको कुनै पनि स्थानमा गए पनि नछाड्ने चेतावनी दिएका थिए । ‘अपरेसन सिन्दूर’ सुरु गरिएको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकमा रक्षामन्त्री राजनाथ सिंहले हमलाबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्रिपरिषद्का सबै सदस्यले हमलाको स्वागत गरेका थिए । 

रक्षामन्त्री सिंहले हवाई हमलाका विषयमा स्थल, जल तथ वायुसेनाका प्रमुखहरूसँग छलफलसमेत गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले पनि सीमावर्ती राज्यका मुख्यमन्त्री, मुख्य सचिव र शीर्ष प्रहरी अधिकारीसँग बैठक गरेका छन् । बैठकमा पञ्जाब, राजस्थान, गुजरात, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगालका मुख्यमन्त्री तथा संघ प्रशासित लद्दाख, जम्मु र कश्मीरका उपराज्यपाल उपस्थित थिए । 

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले ‘सीमापारिबाट हुने हमलाको जवाफ दिने र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकार प्रयोग गर्दै’ पाकिस्तान र पाकिस्तानका ‘आतंकवादी अखडा’ मा हमला गरेको बताए । ‘दुई साताअघिको आतंकवादी हमला भारत प्रशासित कश्मीरमा सामान्य जनजीवन प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित थियो,’ उनले भने । 

भारत प्रशासित कश्मीरको भ्रमणमा गत वर्ष २ करोड २५ लाखभन्दा बढी पर्यटक पुगेको उल्लेख गर्दै मिस्रीले स्थानीय अर्थतन्त्रको मुख्य आधार रहेको पर्यटन क्षेत्रलाई धराशायी बनाउन पहलगाममा दुई साताअघि आतंकवादी हमला गरिएको दाबी गरे । पाकिस्तानले ‘आतंकवादी पूर्वाधार’ नष्ट गर्न कुनै कदम नचालेको आरोप पनि उनले लगाए । पहलगाम हमलामा ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) संलग्न रहेको र त्यो पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तैयबाको एउटा मोर्चा भएको मिस्रीले बताए ।

पहलगाम घटनामा दुई हमलाकारी पाकिस्तानी नागरिक रहेको र पाकिस्तानले उनीहरूलाई समर्थन गरेको भारतीय प्रहरीको आरोप छ । पाकिस्तानले भने पहलगामको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ । 

Missile attack by India on Pakistan

भारतको प्रमुख विपक्षी दल कंग्रेसका प्रमुख मल्लिकार्जुन खड्गेले पनि ‘अपरेसन सिन्दूर’ लाई समर्थन गरेका छन् । ‘राष्ट्रिय एकता र ऐक्यबद्धता समयको आवश्यकता हो,’ उनले भनेका छन्, ‘गत महिना भारत प्रशासित कश्मीरमा भएको हमलापछि कंग्रेस पार्टी सीमापार आतंकवादविरुद्ध कुनै पनि निर्णायक कारबाहीमा सशस्त्र सेना र सरकारको साथमा स्पष्ट रूपमा उभिएको छ ।’ अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का प्रमुख असदुद्दीन ओवैसीले पनि ‘पाकिस्तानी आतंकवादी शिविर’ मा भारतले गरेको हमलाको स्वागत गरेका छन् । 

जम्मु र कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले उक्त क्षेत्रका कसैले पनि दुई मुलुकबीच युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । ‘तर बन्दुक कम गर्ने जिम्मेवारी इस्लामाबादको हो,’ उनले भनेका छन् । पहलगाममा भएको आतंकवादी हमलाको उपयुक्त जवाफ दिन भारत सरकारले सही विधि रोजेको उनको भनाइ छ । ‘पाकिस्तानको आतंकवादी स्थलमा मात्र प्रहार गरिएको हो, सैन्य क्षेत्र वा नागरिक पूर्वाधारमा होइन । तर पाकिस्तानले केही क्षेत्रमा बमबारी गरेको छ र त्यहाँ हाम्रा नागरिकलाई लक्ष्य गरिएको छ,’ उनले भने । कश्मीरका बासिन्दालाई नआत्तिन उनले आश्वासनसमेत दिएका छन् ।

भारतका प्रमुख विमान सेवा कम्पनीहरूले बुधबारबाट उत्तरी भारतका विमानस्थलमा सेवा बन्द गरेका छन् । एयर इन्डियाले भारत प्रशासित कश्मीरको जम्मु र श्रीनगर, संघीय प्रशासित लद्दाखको लेह, राजस्थान राज्यको जोधपुर, पञ्जाब राज्यको चण्डीगढ र अमृतसर तथा गुजरात राज्यको भुज, जामनगर र राजकोटका उडान १० मे (शनिबार) बिहानसम्म रद्द गरिएको जनाएको छ । 

इन्डिगोले पनि उत्तरी सहरका धेरै उडान रद्द गरेको छ । एयर इन्डियाद्वारा सूचीबद्ध विमानस्थलमा बाहेक इन्डिगोले हिमाचल प्रदेशको धर्मशाला, राजस्थानको बिकानेर र किसनगढ तथा मध्य प्रदेशको ग्वालियरमा हुँदै आएका उडान पनि रद्द गरेको छ । स्पाइसजेटले ती विमानस्थलमा हुने उडान प्रभावित भएको जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बुधबारको हमलालाई ‘कायरतापूर्ण’ भनी टिप्पणी गरेका छन् । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आतंकवादी शिविरलाई लक्ष्य गर्ने भारतको दाबी गलत भएको बताएका छन् । भारतले सर्वसाधारण नागरिकमाथि हमला गरेको उनको भनाइ छ ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले गरेको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको जनाएको छ । ‘त्यस्तो दुस्साहसपूर्ण व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा पुग्छ,’ विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएरै असन्तुष्टि व्यक्त गरेको छ । 

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतीय हवाई हमलालाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेको छ । भारतले पाकिस्तानी सार्वभौमसत्तामाथि धावा बोलेको समितिको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग रहेको चेतावनी दिएको छ । 

प्रधानमन्त्री शरिफको अध्यक्षतामा बसेको समितिको बैठकले पाकिस्तानका सैन्य बललाई जवाफी कारबाही गर्ने अधिकार दिइएको जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पनि सशस्त्र बललाई सम्बन्धित कारबाहीको अधिकार प्रदान गरेको जनाएको छ । 

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले भारतबाट भएको हमलाको निन्दा गरेको छ । पाकिस्तानका तीन प्रमुख राजनीतिक दलमध्येको एक पीपीपीका प्रमुख पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीका छोरा बिलावल भुट्टो हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलामा सरोकार व्यक्त गरेका छन् । ‘मलाई लाग्छ, विगतका घटनाक्रमका आधारमा केही हुँदै छ भन्ने मानिसलाई थाहा थियो । तिनीहरू लामो समयदेखि लडिरहेका छन्,’ उनले भनेका छन्, ‘मलाई आशा छ कि यो चाँडै समाप्त हुनेछ ।’ 

भारतको कारबाहीलाई ‘खेदजनक’ भनी टिप्पणी गर्दै चीनले दुवै पक्षलाई संयमताका लागि आह्वान गरेको छ । ‘चीन आज (बुधबार) बिहानको भारतको सैन्य कारबाहीप्रति खेद व्यक्त गर्छ र वर्तमान विकसित अवस्थाबारे चिन्तित छ । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामी भारत र पाकिस्तान दुवैलाई शान्ति र स्थिरतालाई प्राथमिकता दिन, शान्त र संयमित रहन र परिस्थितिलाई अझ जटिल बनाउने कार्य गर्नबाट बच्न आह्वान गर्छौं ।’ 

चीन पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो लगानीकर्ता हो । चिनियाँ लगानी रहेको ६५ अर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर परियोजना देशभर फैलिएको छ । चीन र भारतबीच भने धेरै स्थानमा सीमा विवाद छ । तीमध्ये एक कश्मीर क्षेत्रको उत्तरपूर्वी भागमा पर्छ । बेलायतले पाकिस्तान र भारतलाई एकअर्कासँग वार्ता गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केयर स्टार्मरले तनाव कम गर्न र नागरिकको सुरक्षाका लागि बेलायत दुवै देशसँग सम्पर्कमा रहेको जनाएका छन् । भारत र पाकिस्तानलाई संयम देखाउन र द्रुत कूटनीतिक मार्ग खोज्नका लागि प्रत्यक्ष वार्तामा संलग्न हुन आग्रह गरिएको विदेशमन्त्री डेभिड ल्यामीले जनाएका छन् । बेलायतमा भारतीय वा पाकिस्तानी मूलका नागरिक लाखौं रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारत र पाकिस्तानमा मेरा समकक्षीलाई मैले स्पष्ट पारेको छु कि यो अझ बढ्यो भने कसैले पनि जित्दैन ।’ 

रुसले पनि भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आह्वान गरेको समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले पनि दिल्ली र इस्लामाबादलाई संयम अपनाउन आह्वान गरेका छन् ।

पहलगाम हमलायता भारत र पाकिस्तान दुवैले एकअर्काविरुद्ध बदला लिने विभिन्न उपायको घोषणा गरिसकेका छन् । उनीहरूले सीमा बन्द गर्ने, भिसा रद्द गर्ने, कूटनीतिज्ञलाई निष्कासन गर्ने तथा सिन्धु नदी सन्धि निलम्बनलगायतका कदम चालेका छन् । सीमा क्षेत्रमा दुवै पक्षका सेनाले गोली हानाहानसमेत गरेका छन् । 

ब्रिटिस उपनिवेशबाट सन् १९४७ मा स्वतन्त्र भएसँगै विभाजित भारत र पाकिस्तानले पटक–पटक युद्ध लडेका छन् । तीमध्ये धेरैजसो कश्मीरमा केन्द्रित थिए । दुई देशबीच विभाजनको केही महिनामै पहिलो युद्ध सुरु भएको थियो, जुन संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् १९४९ मा अन्त्य भएको थियो । त्यसले कश्मीर क्षेत्र विभाजन गर्‍यो तर दुवै मुलुकले कश्मीरमाथिको पूर्ण दाबी छाडेनन् । 

सन् १९६५ मा पाकिस्तानी सेना भारत प्रशासित कश्मीरमा प्रवेश गरेपछि दुई देशबीच पुनः युद्ध भयो । त्यतिबेला स्थल तथा हवाई हमला भएका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानमा युद्ध भड्कियो । भारतले त्यहाँका स्वतन्त्रता सेनालाई समर्थन गर्‍यो र अन्ततः बंगलादेश स्थापना भयो । सन् १९९९ को कारगिल युद्धमा पाकिस्तानी सेनाले भारत प्रशासित कश्मीरमा घुसपैठ गर्‍यो । 

पछिल्ला वर्षहरूमा आतंकवादी हमलाका कारण तनाव बढ्दो छ । सन् २०१६ को उरी हमलापछि भारतले ‘सर्जिकल स्ट्राइक’ सुरु गरेको थियो । सन् २०१९ मा पुलवामामा गरिएको बम विस्फोटपछि भारतले बालाकोटनजिकै हवाई हमला गरेको थियो । पाकिस्तानले पनि जवाफी हवाई हमला गरेपछि दुई देशबीचको तनाव कारगिलपछिकै खतरनाक अवस्थामा पुगेको थियो ।

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully