नेतृत्वमा नारी शक्ति : अझै अदृश्य अवरोध

कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नारी मासिकको ‘निर्भीक नारी’को पाँचौं संस्करण बुधबार काठमाडौंमा सम्पन्न भएको छ, महिलाको हक अधिकारमाथि बहस तथा महिला सशक्तीकरणबारे मन्थनका लागि यो कार्यक्रम आयोजना हुँदै आएको छ

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Women's Power in Leadership: The Still Invisible Barrier

काठमाडौँ — महिलाहरू हरेक समयको रूपान्तरणको साक्षी भए पनि उनीहरूलाई अघि बढ्न अझै समाजमा अदृश्य अवरोध रहेको सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नारी मासिकले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भीक नारी : नेतृत्वमा नारी शक्ति’ अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी वक्ताले महिलाले गरेका रूपान्तरण र योगदानलाई इतिहासमा समेट्न नसकेको बताएका हुन् । 

कार्यक्रमकी मुख्य वक्ता राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापाले इतिहास केलाउँदै जाँदा लिच्छविकालदेखि गणतन्त्रको समयसम्म आइपुग्दा हरेक समय समाज रूपान्तरणका साक्षी महिला रहेको बताइन् ।

समाज रूपान्तरणमा सशक्त योगदान गरेका योगमाया, भृकुटीको उदाहरण दिँदै भनिन्, ‘लिच्छविकालदेखि अहिले गणतन्त्र आउँदाको समयसम्म हेर्दा महिला रूपान्तरणका संवाहक हुन्, उनीहरूको इतिहासलाई विश्वविद्यालयदेखि इतिहासमा समेट्न र उजागर गर्न पछि पर्नु हुँदैन ।’

कार्यक्रमको पहिलो सत्र ‘अदृश्य अवरोध’ मा पूर्वसहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले समाजमा महिलामाथि भएको विभेदको आवाज उठाउन विद्यार्थीकालदेखि नै राजनीतिमा आएको बताइन् । आफ्नो समयमा महिलामाथि हुने हिंसा र विभेद सामान्य रूपमा लिइएको, महिलामाथि दमन गर्नु पुरुषको अधिकारका रूपमा स्थापित भएको समेत उनको भनाइ छ ।  

Women's Power in Leadership: The Still Invisible Barrier

‘समाजमा अदृश्य अवरोध छ । किनभने छोरी भएर गरेको नेतृत्व स्वीकार गर्न हाम्रो समाज तयार छैन र राजनीतिमा आफ्नै साथीको विश्वास छैन,’ उनले भनिन्, ‘अब अदृश्य अवरोध कहाँ थिएन भन्ने कुरा आँखा चिम्लेर सोच्नुपर्ने अवस्था छ । यो हिजो जहाँ पनि थियो । परिवार, समाज, दल र राज्यमा थियो ।’ अहिलेको समयमा प्रगतिशील विचार राख्ने व्यक्तिले यसमा सचेत व्यवहार गरे पनि हरेक क्षेत्रमा अदृश्य अवरोध भएको उनले आफ्नो भनाइ राखिन् । यस्तो अवरोध समाजले उत्पादन गरेको र यो समाजले नै बनाएको मानक रहेको उनले बताइन् । 

छोरी भएर जन्मेकै कारणले महिलामाथि विभेद हुनु सामान्य रूपले स्वीकार गर्ने हिजोको समाजमा पनि विभेद हुने र अहिलेको समयमा यसको स्वरूप बदलिरहेको झाँक्रीले सुनाइन् । ‘म अवरोध सामाजिक उत्पादन भनिरहेको छु । किनभने महिला भनेका कमजोर, एट्टिच्युड भएको, काम गर्न नसक्नेजस्ता मानक समाजमा छन्,’ उनी भन्छिन्, ‘यसमा हाम्रो कार्यशैली र संरचनागत परिवर्तन गर्ने कुरा छन् । यो कुरा परिवार र समाजले स्वीकार गर्नुपर्ने छ । यदि हामीले परिवर्तन गर्न सकेनौं भने अवरोधका विभिन्न रूप आउँछन् ।’ 

कार्यक्रममा स्पेनका लागि नेपालकी पूर्वराजदूत दावा फुटी शेर्पाले राजदूतका रूपमा नियुक्त हुँदा अनुभव नभएका कारणले विभिन्न टिप्पणी सुन्नुपरेको बताइन् । ‘राजदूतका रूपमा नियुक्ति हुँदा कतिले मसँग अनुभव छैन भने,’ उनले भनिन्, ‘मैले दुई वर्ष स्पेनमा काम गरेपछि केहीले अझै पनि मलाई यस्तो गरे अझै राम्रो हुन्थ्यो भनेर सुझाव दिए । यदि मेरो स्थानमा पुरुष भएको भए यस्ता टिप्पणीहरू आउने थिएनन् ।’ उनले आफ्नी आमा पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्दा आफू सानै भएको र आमाकै जीवनीबाट अगाडि बढ्ने प्रेरणा लिएको बताइन् । 

‘आमाले कहिल्यै पढ्न पाउनु भएन । तर उहाँको सपना ठूलो थियो र त्यसका लागि थुप्रै चुनौती सामना गर्नुपर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला धेरैले मेरो आमा प्रोफेसनल क्लाइम्बर होइन भने । तर मेरी आमाले आफूलाई चुनौती दिँदै सगरमाथा चढ्न सफल भइन् ।’ उनले आफूलाई आएको चुनौती सामना गर्न तयार रहेको र यस्ता चुनौती आइरहने बताइन् ।

अधिवक्ता एवं त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक रोशनी पौड्यालले महिलाको विचारलाई स्विकार्न समाज तयार नभएको बताइन् । महिलाले आफूमाथि भएको अन्यायविरुद्ध बोल्दा महिलामाथि नै दोष लगाउने गरिएको उनले सुनाइन् । ‘मलाई अन्याय भयो, अथवा कुनै विषयमा मेरो यो विचार छ भन्दा स्वीकार गर्दैनन् । समाज मात्रै होइन सामाजिक सञ्जालमा महिलाले आफूलाई गाह्रो भयो भन्दा पहिला उसैलाई नै दोषी देखाइन्छ,’ पौड्यालले भनिन्, ‘पीडितको कुरा सुन्नुभन्दा पहिल्यै उसलाई गलत देखाइन्छन् । मेरो आवाज सुन्नका लागि अहिले पनि समाज तयार छैन । पीडितलाई दोषी देख्ने ‘ब्लेमिङ कल्चर’ अझै नेपाली समाजमा छ ।’

 संविधान र कानुनका हिसाबले महिला सशक्तीकरण र लैंगिक समानताका पक्षमा धेरै अगाडि पुगे पनि आम महिलाले अधिकारको लडाइँमा अदृश्य अवरोध सामना गर्नुपरेको उनको भनाइ छ । देवयानी इन्टरनेसनलकी ट्रेनिङ र डेभलपमेन्ट प्रमुख रोजिना राउतले नेतृत्वमा महिलाको उपस्थिति अझै स्विकार्ने अवस्था नभएको र पचाउनसमेत गाह्रो हुने अवस्था कायम भएको बताइन् । साथै महिलामाथि अझै विश्वासको वातावरण नभएको समेत टिप्पणी गरिन् । ‘आफूसँगै काम गर्ने महिला, म्यानेजर भई भनेर हेप्ने, नपत्याउने छन् । आफ्नै अनुभवमा मेरो कामप्रति अविश्वास गर्ने पनि थिए,’ उनी भन्छिन्, ‘मैले ८० प्रतिशत महिलालाई लिएर काम गरिरहेको छु । महिलाका लागि अदृश्य अवरोध भनेको उनी पनि नेतृत्वमा आउन सक्छन् भन्ने विश्वास र स्वीकारोक्ति नभएको देखेको छु ।’ 

'घोकन्ते होइन, व्यावहारिक शिक्षा चाहियो’

‘निर्भीक नारी’को पाँचौं संस्करणको दोस्रो सत्र ‘किशोरावस्थाका कुरा’मा वक्ताले वर्तमान शिक्षा प्रणाली सुधारमा जोड दिएका छन् । विश्वनिकेतन सेकेन्डरी स्कुलबाट हालै एसईई दिएकी अफ्रोजा नसिमले वर्तमान शिक्षा प्रणालीप्रति प्रश्न उठाइन् ।

‘हाम्रो शिक्षण पद्धति बुझेर सिकाउने होइन, कण्ठस्थ गराएर नम्बर ल्याउनेमा केन्द्रित छ,’ उनले भनिन् । भारतको एक समाचारको उदाहरण दिँदै उनले ५० भन्दा बढी प्रमाणपत्र र दर्जनौं मेडल भएकी एक छात्राले इन्टर्नसिप अवसर नपाएको उल्लेख गरिन् । ‘नम्बरभन्दा बढी आवश्यक सीप हो,’ उनले भनिन् । विद्यालयहरूमा सिर्जनात्मक सोच र व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

युनाइटेड एकेडेमीमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत रीति महर्जनले शिक्षाको गुणस्तरसँगै लैंगिक भेदभाव र एआईको प्रभावबारे विचार राखिन् । ‘एआईले सहयोग गरे पनि यसले मेरो सोच्ने र सिर्जनात्मक क्षमता घटाएको छ,’ उनले भनिन् । अझै पनि समाजले महिलाको करिअरभन्दा बिहेलाई प्राथमिकता दिएको उनको भनाइ थियो । रीतिले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘आमा भन्नुहुन्छ, हामी केटीहरूको जीवन यस्तै हो । तर म भन्छु हुनैपर्छ भन्ने छैन ।’ उनले सम्पत्तिमा महिलाको अधिकार समान हुनुपर्नेमा जोड दिइन् । 

Women's Power in Leadership: The Still Invisible Barrier

वर्ल्ड स्कुलमा कक्षा ११ मा अध्ययनरत सिल्भिया सिन्जाली मगरले नेपालमै बसेर काम गर्ने इच्छा व्यक्त गरिन् । स्नातक नेपालमै पढ्ने र स्नातकोत्तरका लागि विदेश जाने योजनामा रहेकी उनले भनिन्, ‘मास्टर्स विदेशमा पढेर अन्तर्राष्ट्रियस्तरको ज्ञान र अनुभव लिन चाहन्छु, तर पढाइपछि नेपालमै फर्किनेछु ।’ किशोरीहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, पहिलेभन्दा बोल्ड र आफ्ना विचार सहजै राख्न सक्ने भएको उनको धारणा थियो ।

धुम्बाराही चिल्ड्रेन्स लाइब्रेरीकी संस्थापक स्कन्द स्वाँरले बालबालिकालाई सानैदेखि समावेशी वातावरणमा राख्दा विभेद नहुने बताइन् । सेन्ट जेभियर्समा ए–लेभल अध्ययनरत स्कन्दले दुई वर्षदेखि धुम्बाराहीमा प्रत्येक शनिबार बालबालिकाका लागि खुला पुस्तकालय सञ्चालन गर्दै आएकी छन् । ‘मेरो पुस्तकालयमा विभिन्न पृष्ठभूमिका बालबालिका आउँछन् । उनीहरू सँगै बसेर पढ्छन्, खेल्छन् । सानैदेखि सबैलाई समावेश गर्दा न तपाईंले अरूलाई विभेद गर्नुहुन्छ, न त आफैं विभेदको सिकार हुनुहुन्छ,’ उनले भनिन् ।

'अवसरको कमीले महिलालाई अगाडि आउन गाह्रो’

महिला कूटनीतिज्ञले अवसरको कमीले महिलालाई राजनीति, व्यापार र सार्वजनिक क्षेत्रमा अगाडि आउन गाह्रो भएको बताएका छन् । कार्यक्रमको तेस्रो सत्र ‘कूटनीतिज्ञको आँखामा नेपाल’ मा नेपालका लागि अस्ट्रेलियाली राजदूत लिन जोन्स्टनले नेपालमा शिक्षामा समान पहुँच नहुनु ठूलो चुनौती भएको बताइन् ।

‘अवसरको कमीले महिलालाई राजनीति, व्यापार वा सार्वजनिक ठाउँमा अगाडि आउन गाह्रो छ । राजनीतिक सहभागिता कम भएकाले महिलाले आफ्ना अधिकारका लागि लड्न प्रोत्साहन पाइरहेका छैनन्,’ उनले भनिन् । 

पूर्वमिस नेपाल शृंखला खतिवडाले सञ्चालन गरेको उक्त सत्रमा संयुक्त राष्ट्रसंघ महिला (यूएन वुमन) की नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेकोले बालविवाह, घरको काम र शिक्षामा कम पहुँचले महिलालाई अगाडि आउन नदिएको बताइन् ।

‘गाउँका महिला दिनको ३० प्रतिशत समय पानी ल्याउन बिताउँछन् । ९० प्रतिशत महिला अनौपचारिक काममा छन् । घरको हेरचाहले महिलालाई बोझ थपेको छ । ३० वर्षअघिको चुनौती अझै उस्तै छ,’ उनले भनिन्, ‘जलवायु परिवर्तन, अनलाइन दुर्व्यवहार जस्ता समस्या थपिएको छ । प्रगति नभएको भन्न मिल्दैन तर निकै ढिलो र असमान छ ।’ 

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जो नेपालका महिलाले अझै पनि लैंगिक विभेद भोग्नुपरेको बताउँछिन् । ‘नेपालका महिला एकदमै भुइँबाट आएका हुन्छन् । उनीहरूले विभेद भोगेका हुन्छन् । शिक्षा नै महिला प्रगतिका लागि आधार बनेको छ । शिक्षाको पहुँचमा महिला सहभागिता बढेको छ । अहिले छात्राहरूले धेरै राम्रो पढाइ गरिरहेका छन्, जुन बिर्सन नहुने प्रगति हो,’ उनले भनिन् ।

सत्रको दोस्रो चरणमा राजदूत लिनले अस्ट्रेलियाको उदाहरण दिइन् । सन् १९९४ मा अस्ट्रेलियाको एक पार्टीले ३५ प्रतिशत जित्न सकिने ठाउँमा महिलालाई उम्मेदवार बनायो, जसले अहिले अस्ट्रेलियाको संसद्मा महिलाको सहभागिता ५० प्रतिशतसम्म पुगेको उनले बताइन् । नेपालमा पनि ३३ प्रतिशत कोटालाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । 

घरमा पुरुष र महिलाले काम बराबर बाँड्नुपर्ने उनले सुझाइन् । भेरोनिकले ईयूको विश्वव्यापी लैंगिक समानताका योजनाले हिंसा घटाउन, आर्थिक स्वतन्त्रता र राजनीतिक सहभागितामा जोड दिएको बताइन् । नेपालमा पनि ‘सशक्त महिला, समृद्ध नेपाल’ जस्ता कार्यक्रमले यी क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिइन् । पुरुषलाई समानताबारे सिकाउन नेपालमा अझै धेरै गर्नुपर्ने उनको भनाइ थियो । ‘राजनीतिमा सहभागिता बढाउनु इन्जिनजस्तै हो । यही इन्जिनले महिलासम्बन्धी अन्य मुद्दालाई अगाडि बढाउने शक्ति दिन्छ । महिला सशक्तीकरणका लागि महिलावादी पुरुष हुर्काउनुपर्छ,’ भेरोनिकले भनिन् । 

तेस्रो चरणमा लिनले अस्ट्रेलियाबाट नेपालमा लैंगिक समानतालाई लिएर भएका सबै कार्यक्रमको प्रशंसा गरिन् । छात्रवृत्तिमा ५० प्रतिशत महिला र कर्णालीमा महिला मेयरको नेतृत्वमा स्थानीय सरकारको बलियो प्रस्तुति, जलस्रोत र बजेटमा महिलालाई फाइदा हुने नीतिको उनले सराहना गरिन् । त्यस्तै पस्मिना, कफी, सुरक्षित सार्वजनिक ठाउँ र हरित कृषिमा ईयूले गराएको महिलाको सहभागिताले फाइदा पुर्‍याएको भेरोनिकले बताइन् । यूएन वुमनले विभिन्न संकटको समयमा सञ्चारमाध्यम, निजी क्षेत्र र राजनीतिक दललाई महिलाको समावेशितामा जवाफदेही बनाउन खोजेको प्याट्रिसियाले जानकारी दिइन् ।

'आफ्नो शरीरलाई माया गरौं’

कार्यक्रमको चौथो सत्र ‘मेरो शरीर, मेरो छनोट’ मा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्टले आफ्नो शरीरलाई माया गर्नुपर्ने बताइन् । ‘तपाईंको जीवनभरको साथी यही शरीर हो । त्यसैले शरीरलाई माया गरौं,’ उनले भनिन्, ‘व्यक्तिको शरीरमाथिको अधिकार मानव अधिकारको विषय हो ।’ आफ्नो शरीरलाई स्विकार्ने संस्कृति नै नभएको हिमा सुनाउँछिन् ।

‘हाम्रो एउटा नैतिक मान्यता छ जसले महिलाको शरीर यस्तो हुनुपर्छ भन्ने मापदण्ड बनाएको छ । त्यही शरीर युवामा एउटा आकारको मापदण्डमा छ भने ३०–४० वर्षमा अर्को मापदण्डमा । तर शरीर परिवर्तन हुन्छ भन्ने बुझ्दैनन्,’ उनले भनिन् ।

महिलाले सन्तान जन्माउने विषय उनको इच्छाभित्र पर्ने उनले बताइन् । ‘कसैले सन्तान जन्माउने र नजन्माउने कोही व्यक्तिको इच्छा हो । अरुको त्यो इच्छालाई हामीले स्विकारिदिनुपर्‍यो,’ हिमाले भनिन्, ‘कोही व्यक्तिलाई सुरुमा भेट्नेबित्तिकै शरीरमाथि कमेन्ट गर्न थाल्छौं, अनि भन्छौं मोटाएको हो ? म मोटाओस् कि नमोटाओस् ।’

‘मिस ट्रान्स नेपाल २०२४’ विजेता अनमोल रानी राईले महिलालाई समान रूपले हेर्न, यौनिक तथा अल्पसंख्यक समुदायलाई सुरक्षित राख्न नीतिस्तरमै काम गर्नुपर्नेमा जोड दिइन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायको विषय पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राखिन् । यो समुदायलाई आदर गर्न, स्वतन्त्रका विषयमा सिकाइनुपर्ने पनि उनको भनाइ छ । ‘उहाँहरूका लागि राम्रो स्वास्थ्योपचार हुनुपर्छ, जहाँ महिला र यौनिक तथा अल्पसंख्यकले आफूलाई सुरक्षित महसुस गरून्,’ अनमोलले भनिन् ।

उनले आफ्नो यौनिक पहिचानबारे बुझ्न खोज्दा सहयोग गरिदिनेहरू नभेटिएको अनुभव सुनाइन् । यौनिक तथा अल्पसंख्यकका मुद्दामाथि बुझ्नेहरू कम हुँदा ‘जेन्डर डिस्मोरमिया’ बाट बाहिर आउन गलत औषधि प्रयोग गर्दै आएको पनि उनले बताइन् । ‘कतिले ट्रान्स पुरुषको महिनावारी हुँदैन भन्ने ठान्छन् । तर, कति ट्रान्स पुरुषको महिनावारी हुने गर्छ । त्यसैले उनीहरूका लागि त्यसै किसिमको स्वास्थ्योपचार हुने सुरक्षित स्थान हुनुपर्छ,’ उनले भनिन् । 

यौनिक तथा अल्पसंख्यक समुदायको सञ्चारमाध्यममा सकारात्मक प्रतिनिधित्व हुनुपर्ने उनले बताइन् । ‘प्राइडमन्थमा मात्र मेरो अस्तित्व हुने होइन । म अरू बेला पनि त यही समुदायको हुन्छु । हामीलाई अन्तर्वार्तामै पनि असंवेदनशील प्रश्न सोधिन्छन्,’ अनमोलले भनिन् । 

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ब्रान्ड म्यानेजर श्रीधा राज्यलक्ष्मी शाहले सर्वप्रथम आफूलाई स्विकार्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘शिक्षित र व्यावसायिक महिलाका रूपमा मैले महसुस गरेको कुरा भनेको आफूलाई स्वीकार गर्न सिक्न हो । लेस्बियनको रूपमा बाहिर आउन, आफूलाई चिन्न धेरै समय लाग्यो । विवाह गरेपछि आफूलाई चिनें । त्यो मेरो टर्निङ पोइन्ट बन्यो । समाजमा आउन गाह्रो भयो तर जरुरी थियो ।’

 सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी कन्टेन्ट क्रिएटर इष्टु कार्की महिलालाई हेर्ने दृष्टि साँघुरो रहेको धारणा राख्छिन् । ‘धर्म संस्कृतिका नाममा महिलाका लागि सीमाहरू तोकिएका छन्, यो गर्न मिल्छ, यो लगाउन मिल्छ मिल्दैन भनेर,’ उनले भनिन् ।

अर्कोतर्फ सम्पत्तिमाथिको स्वामित्वमा पनि छोरीहरूलाई विभेद गरिएको उनको भनाइ छ । ‘महिलालाई स्वतन्त्रता र सम्पत्तिको स्वामित्वमा विभेद छ, पितृसत्तात्मक सोचबाट समाज माथि उठ्न सकेको छैन, महिलाको पहिरन, स्वतन्त्रताप्रति खिस्सी गरिन्छ,’ उनले भनिन् ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully