‘समाजमा नकारात्मक पक्षको खोजी बढेको छ’

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

”The search for negative aspects has increased in the society”

काठमाडौँ — केही समयदेखि सामाजिक सञ्जालमा ट्रोलको सिकार भइरहेकी छन् कन्टेन्ट क्रिएटर इष्टु कार्की । इलामको माइपोखरीमा लगाएको पहिरन नै उनको ट्रोलको मुख्य कारण हो । उनका अनुसार पछिल्लो समय व्यक्तिकोे नकारात्मक पक्ष खोजी गर्ने टेन्ड्र बढेको बताइन् ।

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘स्वतन्त्रता मेरो खुसी’ सत्रमा बोल्दै उनले भनिन् ‘मेरो राम्रो कन्टेन्टको बारेमा कहिल्यै कुरा आएन एप्रिसेट गरिएन माइपोखरीमा लगाएको लुगालाई ट्रोल गरियो, यसले के देखाउँछ भने समाजमा नकारात्मक बढेको छ ’ । 

कन्टेन्ट क्रिएटरको यात्रामा यति धेरै नकारात्मक टिप्पणी होला भन्ने आफूले नसोचेको बताइन् । नकारात्मक टिप्पणीले प्रेसर र तनाव भएपनि पछिल्लो समय वास्ता गर्न छोडेको पनि उनले बताइन् । उनले भनिन्, ‘नकारात्मक टिप्पणीले तनाव त हुन्छ नै तर मेम र ट्रोल होला भनेर तयारी गरेर पनि बसेको हुँदैन तर चुनौती चिरेर अगाडि बढ्ने हिम्मत चाहिन्छ त्यो अनुभवले सिकाउने रहेछ ।’ 

महिलाहरुले लगाउने पहिरनमा स्वतन्त्रतामा टिप्पणी गर्नु समाजमा रहेको पितृसतात्मक सोच र धर्मका नाममा गरिने व्यवहार मुख्य कारण देख्छिन् उनी । उनका अनुसार धर्मले पनि महिलाहरुको स्वतन्त्रतालाई बाँधेको छ । उनले संस्कृतिले महिलाहरुको बाँधेको बताउँदै उनले सम्पत्ति माथिको स्वामित्वमा पनि छोरीहरुलाई विभेद गरिएको बताइन् । उनले भनिन्, ‘धर्मको नाममा महिलाहरुलाई स्वतन्त्रता र सम्पत्तिको स्वामित्वमा पनि विभेद छ, पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेको छैन महिलाहरुले खुलेर लगाएर हिँडेकोमा खिस्सी गरिन्छ ।’

कान्तिपुर

Link copied successfully