औँसी र पूर्णिमामा वक्तव्य निकाल्ने पूर्वराजा कालापानी क्षेत्र नक्सामा राख्दा बोलेनन् : रिजाल

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

The former king who issued a statement on full moon and full moon did not speak while placing the Kalapani region on the map: Rizal

काठमाडौँ — भारतीय नियन्त्रणमा रहेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले वक्तव्यसम्म ननिकालेको भन्दै सरकारको नेतृत्व गरेको एमालेका सांसद ईश्वरबहादुर रिजालले बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले राप्रपालाई राष्ट्रवादको प्रतीकमा ज्ञानेन्द्र शाहलाई देख्न छोड्न सुझाव दिए । 

पूर्वराजा शाहले बारम्बार वक्तव्य निकाल्दै आएको भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्दा एउटा वक्तव्यसम्म नदिएको भन्दै सांसद रिजालले आपत्ति जनाए । 'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश गर्दा सिंगो राष्ट्र एक भएर उठ्यो । औँसी, पूर्णिमामा पनि वक्तव्य निकाल्नुहुन्छ पूर्वराजा तर त्यो बेलामा उहाँको वक्तव्य कतै सुनिएन,' सांसद रिजालले भने, 'त्यो गुमेको भाग उहाँकै बुबाजी (राजा महेन्द्र शाह)को पालामा त्यो भागमा भारतको सेना बसेको थियो । त्यो हाम्रो हो भनेर हामीले दावा गर्दा, हाम्रो नक्सामा समावेश गर्दाखेरि औँसी, पूर्णिमामा वक्तव्य दिने पूर्वराजाको वक्तव्य कतै आएन ।'

राष्ट्र भनेको भूगोल पनि भएको र त्यसप्रति सम्मान गर्न सांसद रिजालले पूर्वराजा शाहलाई सुझाव दिए भने राप्रपालाई राजावादी बाटो छोडेर परिवर्तनलाई स्वीकार गर्न आग्रह गरे ।

संसद्को पाँचौँ ठूलो दल राप्रपालाई राजावादी बाटो छोड्न सांसद रिजालको सुझाव थियो । पार्टीको नाम नै परिवर्तन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गर्न सांसद रिजालले राप्रपालाई सुझाव दिए ।

'२०४६ सालमा पञ्चायती व्यवस्था बिदा भयो र बहुदल आयो । त्यो बेलाका राप्रपा नेताहरूलाई म धन्यवाद दिन्छु परिवर्तनलाई आत्मसाथ गर्नुभयो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्नुभयो, राप्रपा अहिले अस्तित्वमा छ परिवर्तनलाई स्वीकार गरेर,' उनले सुझाव दिए, 'अहिले सुझाव दिन्छु पार्टीको नाम गणतान्त्रिक राखे हुन्छ । परिवर्तनलाई स्वीकार र आत्मसाथ गर्नुपर्दैन ? पञ्चायत पार्टी भनेर उहाँहरूले त्यो नाम राखेको भए के हुन्थ्यो ? राष्ट्रिय पञ्चायत पार्टी भन्नुभएन, राष्ट्रिय प्रजातन्त्र पार्टी भन्नुभयो । त्यसरी नै परिवर्तनलाई स्वीकार गर्नुपर्छ र लेख्नुपर्छ उहाँहरूले 'राष्ट्रिय संघीय लोकतान्त्रिक गणतन्त्र पार्टी' भनेर भन्नुपर्छ ।'

सांसद रिजालले राप्रपाले परिवर्तन स्वीकार गर्नुमा नै भलो हुने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमले राजनीतिक परिवर्तनको उपलब्धिलाई रक्षा गर्ने उनको भनाइ थियो । संविधान संशोधन गरेर जानुपर्ने र त्यसका लागि सबै राजनीतिक दल मिल्नुपर्ने उनले बताए ।

कान्तिपुर

Link copied successfully