झन्डा उठाए, झन्डा ओढेनन्

एमाले पार्टी निर्माणका एक ‘आर्किटेक्ट’ मानिएका नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन 

वैशाख २४, २०८२

गंगा बीसी

Raised the flag, did not wear the flag

काठमाडौँ — एमाले पार्टी निर्माणका एक ‘आर्किटेक्ट’ मानिएका प्रदीप नेपालको मंगलबार निधन भएको छ । उनले को–अर्डिनेसन केन्द्र, माले हुँदै एमाले बनाउन प्रत्यक्ष भूमिका खेलेका थिए । जीवनभर कम्युनिस्ट राजनीतिमा सक्रिय उनी पछिल्लो समय भने साहित्य लेखनमा केन्द्रित थिए । 

पछिल्ला दिनमा आफूलाई राजनीतिज्ञभन्दा ‘जीवनवादी साहित्यकार’ भन्न रुचाउने नेपाल केही वर्षयता पार्किन्सन रोगबाट पीडित थिए । परिवारका अनुसार विचारभन्दा पदीय प्रतिस्पर्धामा लाग्ने नेताहरूको प्रवृत्ति देखेर उनी राजनीतिमा बिस्तारै निष्क्रिय हुँदै आएका थिए ।

रोगले च्याप्दै लगेपछि उनले आफूलाई ‘मृत्युपर्यन्त पार्टीको झन्डा नओढाउन र पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्न’ इच्छा व्यक्त गर्दै आएका थिए । उनको इच्छाअनुसार पार्टीको झन्डा ओढाइएन र पार्टी कार्यालयमा श्रद्धाञ्जली पनि राखिएन । उनको पार्थिव शरीरको मंगलबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भोजपुरको गोगनेमा २८ पुस २०१० मा जन्मिएका नेपालले २०२६ मा त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०३५ मा को–अर्डिनेसन केन्द्र (कोके) मा सहभागी भए । कोके मुक्ति, पुष्पलाल श्रेष्ठको मुक्ति मोर्चा, दाङको सन्देश समूह, पूर्वको रातो झन्डा एकता हुँदै २०३५ मा नेकपा मार्क्सवादी लेनिनवादी (माले) निर्माणमा उनको उल्लेखनीय भूमिका रहेको थियो । 

राजनीतिक गतिविधिमा सक्रिय रहेका बेला उनी जेल परे । २०३३ मा ललितपुरको नख्खु जेल तोडेर निस्किएका थिए । २०४६ को जनआन्दोलन सफल भएपछि २२ पुस २०४७ मा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई नेकपा (एमाले) गठन भयो । 

तत्कालीन नेकपा (माले) ले २०४६ भदौ ९ देखि १४ सम्म सिरहामा भएको चौथो राष्ट्रिय महाधिवेशनमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिलाई अनुमोदन गरेको थियो । 

त्यसलाई परिमार्जित गरी २०४७ मा तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुलीय जनवाद’ लागू गर्न नेपालको भूमिका महत्त्वपूर्ण रहेको नेताहरूको भनाइ छ । जतिबेला पार्टीभित्र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को चर्को बहस चलेको थियो, त्यतिबेला नेता नेपालले मदन भण्डारीको ‘जबज’बारे केही कुरासहित पुस्तिका छापेर एमाले कार्यकर्तालाई पढाउने अभियान नै चलाएका थिए । 

नेता प्रदीप नेपाल एमाले निर्माणको एक सर्जक भएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् । कम्युनिस्ट जडतालाई तोडेर समयसापेक्ष विचार विकासमा उनको उल्लेखनीय योगदान रहेको ज्ञवालीको भनाइ छ ।

‘प्रदीप नेपाल नेता तथा कार्यकर्ताका लागि प्रेरणाका स्रोत हुनुहुन्थ्यो, म आफैं उहाँबाट प्रेरित व्यक्ति हुँ,’ उनी भन्छन्, ‘समयसापेक्ष कम्युनिस्ट विचार निर्माणमा उहाँको योगदान महत्त्वपूर्ण छ, जनताको बहुदलीय जनवाद लागू गर्न तत्कालीन महासचिव मदन भण्डारीलाई नजिकबाट सघाउने व्यक्ति हो उहाँ ।’

पार्टीमा नयाँ विचार भित्र्याउन मात्र होइन, नयाँ प्रविधिमा सक्रिय हुने नेताका रूपमा समेत नेता नेपालको छवि थियो । २०५६ मा मोबाइल प्रयोग गर्ने, कम्प्युटरमा काम गर्ने नेतामा उनी अग्रपंक्तिमा थिए । ‘पार्टीमा प्रविधि भित्र्याउने, सुरुमा कम्प्युटर चलाउने, मोबाइल फोन प्रयोग गर्ने अग्रपंक्तिको नेतामा उहाँ हुनुहुन्थ्यो,’ ज्ञवाली भन्छन्, ‘एमालेमा जुन नयाँपन देखिन्छ, त्यसको सुरुवात गर्ने नेता उहाँ हो ।’ 

एमाले प्रचार विभागलाई व्यवस्थित गर्ने काम नेपालले गरेका थिए । पार्टीको मुखपत्र ‘नवयुग’ प्रकाशन सुरु गरी पार्टीको विचारलाई कार्यकर्ताको हातहातमा पुर्‍याउन भूमिका खेलेका थिए ।

माओवादी हिंसाको उनी चर्को आलोचक थिए । रुकुममा माओवादीले २०५६ को निर्वाचनमा एमाले नेता यदु गौतमको हत्या गरेपछि उनले ‘आकाश गंगाको तीरैतीर’ उपन्यास लखेका थिए । ‘यदु गौतमको रक्तरञ्जित लास देख्नु नपरेको भए आकाश गंगाको तीरैतीर (उपन्यास) जन्मिँदैनथ्यो’ उनले भनेका थिए । 

२०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर एमालेले सरकार बनाएपछि उनले ‘बहुदलीय आन्दोलनको आदर्श समाप्त भएको’ भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । 

२०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो कम्युनिस्ट सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । २०६३ मा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री थिए ।

एमालेका तत्कालीन प्रवक्ता रहेका उनी २०६५ फागुनमा भएको आठौं महाधिवेशनमा महासचिवको उम्मेदवार भएका थिए । झलनाथ खनाल प्यानलका महासचिवका उम्मेदवार ईश्वर पोखरेलसँग उनी पराजित भएका थिए । त्यसअघि उनी पार्टीमा सातौं वरीयताका स्थायी कमिटी सदस्य थिए ।

साहित्यमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनका एक दर्जनभन्दा बढी उपन्यास छन् । एमाले महासचिव मदन भण्डारी दुर्घटनाबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् । उनका ’एक्काइसौं शताब्दीकी सुम्निमा,’ ‘बाघमारेको लालसलाम,’ ‘देशको खोजी,’ ‘पाइला छाडेर अस्ताएको घाम,’ ‘आमाको मन,’ ‘सञ्जय थापाका कथाहरू,’ ‘जननी जन्मभूमिश्च,’ ‘फेवाको सुस्केरा,’ ‘देउमाईको किनारमा,’ ‘आकाश गंगाको तीरैतीर’ लगायतका कृति प्रकाशित छन् ।

२०७५ मा एमाले र माओवादीबीच एकता हुँदा उनी असन्तुष्ट थिए । त्यसपछि आफूलाई पढ्न र लेख्नमा केन्द्रित गरेका थिए । ‘प्रदीप नेपाल भन्ने एउटा जीवनवादी साहित्यकार थियो भनिदिए मलाई ठूलो पुरस्कार हुन्छ, म साहित्यकार भएर बाँच्न र मर्न चाहन्छु, अरू कुनै पगरीको मोह छैन’ उनले पत्रकार राजेश राईसँगको एक अन्तर्वार्तामा भनेका थिए । नेता नेपालकी एक छोरी छिन् । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनका प्रखर नेता नेपालको निधनले पीडाबोध भएको जनाएका छन् । ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको योगदानलाई हामी सधैं सम्झिरहनेछौं।’

गंगा

Link copied successfully