विराटनगर — प्रदीप नेपाल उर्फ 'सन्जय थापा', जसले नेपालको वामपन्थी राजनीति, प्रगतिशील साहित्य र स्वतन्त्र चिन्तनको एउटै बिम्ब बनेर इतिहासको अनेक पानामा गहिरो छाप छाडे। राजनीतिक परिचयले नेकपा एमालेका नेता, पूर्व मन्त्री, स्थायी समिति सदस्यका रूपमा परिचित भए पनि, उनको असली चिनारी भिन्न थियो।
उनी थिए, एक स्वतन्त्र लेखक। बौद्धिक चिन्तक र वामपन्थी नेता।
धेरैले चाहने नेता तथा लेखक प्रदीप नेपाल, जसले वामपन्थी राजनीति, प्रगतिशील साहित्य र स्वतन्त्र चेतनाको त्रिकोण बनाएर नेपाली समाजमा अमिट छाप छाडे । ती नेता अब हामीमाझ रहेनन् । ७१ वर्षीय उनी केही समयदेखि पार्किन्सन्स रोगसँग जुझिरहेका थिए । उनी मंगलबार हामीमाझबाट सधैँका लागि बिदा भए।
उनले जिउँदाजस्तै मृत्युमा पनि जीवनदर्शन दोहोर्याए। माला, सलामी र झन्डाविहीन अन्त्येष्टिको चाहना व्यक्त गरेर। कुनै राजकीय सम्मानको अपेक्षा नगरी, शालिनतापूर्वक बिदा हुन खोज्नु पनि उनको विचार र जीवनशैलीको निरन्तरता थियो । उनले जहिल्यै बाह्य तामझाम भन्दा चेतनाको स्वतन्त्रतालाई प्राथमिकता दिए ।
राजनीतिमा उनी एमालेका स्थायी समिति सदस्य, मन्त्री र सांसद बने । तर, मूलतः उनी थिए लेखक- सञ्जय थापा । जसले ‘मुक्त आकाशको खोजीमा’ लेख्दै सत्ताको पर्खालभित्रबाट विचारको सुरुङ खनेका थिए । उनका कृति विचार, विद्रोह र विवेकका दस्ताबेज थिए । प्रश्न गर्ने साहसका साक्षी थिए ।
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक । यिनै विशेषताले प्रदीप नेपाललाई सामान्य नेताबाट विशिष्ट व्यक्तित्व बनायो । उनका शब्दले झक्झक्याउने गर्थे, आलोचना सहेर पनि सत्य बोल्ने आँट दिन्थे । अब भने उनको प्रस्थानले हाम्रो सार्वजनिक जीवन एउटा जिम्मेवार र विवेकी आवाजबाट वञ्चित भएको छ ।
प्रदीप नेपाल सधैँ विचारको अनुशासनभित्र रहे । तर, विवेकविहीन मौनताको संहिताभित्र कहिल्यै समाहित भएनन् । पार्टी अनुशासनका नाममा प्रश्नविहीन मौन बस्ने परम्परालाई उनले धारिलो लेख, प्रस्ट विचार र आलोचनात्मक चिन्तनबाट निरन्तर चुनौती दिइरहे ।
धर्मनिरपेक्षता, संघीयता, नेताहरूको आचरणदेखि समग्र राजनीतिक संस्कृतिसम्म उनले फरक मत राख्न हिचकिचाएन । त्यो मत निजी गुनासोको रूपमा मात्रै सीमित रहेन, सार्वजनिक लेख र अन्तर्वार्तामार्फत प्रकट गरे । विचार धारात्मक इमानदारीले नै उनलाई विशिष्ट बनायो । जुन उनले बाँचुन्जेल कायम राखे, र बिदाइमा पनि त्यो देखाए ।
‘सञ्जय थापा’को नाममा ५१ कृति लेखे । जसले उनको साहित्यको परिधि फराकिलो बनायो । देउमाईको किनारमा, एक्काइसौँ शताब्दीकी सुम्निमा, पूर्वतिर, पार्टीकी आमा, आकाशगंगाको तीरै तीर, खुइते कडेरिया जस्ता कृतिहरू प्रगतिशील मूल्यमा अडिएका छन् ।
उनी त्यो खालका वामपन्थी थिए, जसले विचारभन्दा सिर्जनालाई प्राथमिकता दिन्थे । पार्टीले बुर्जुवा भनी खारेज गरेका लेखकहरूलाई पनि सिर्जनाको सामर्थ्यका आधारमा खुलेर सराहना गर्न सक्ने साहस उनमा थियो ।
जस्तो कि कृष्ण धरावासीको ‘झोला’ कथा, जुन पछि सिनेमामा पनि बन्यो, लाई ‘उच्च कलात्मक लेखन’ भनी प्रशंसा गर्ने साहस उनले देखाएका थिए । साँचो प्रगतिशीलता भनेको पूर्वाग्रहबाट मुक्त हुनु हो भन्ने उनको मान्यता थियो ।
‘राजनीति त संयोग हो, म मूलतः लेखक हुँ, यही वाक्यमा प्रदीप नेपालको सम्पूर्ण जीवनदर्शन अटिन्छ । मन्त्री भए पनि सत्ताको मोह कहिल्यै गरेनन् । जब पार्टीको प्रवृत्ति र नेतृत्वप्रति निराशा बढ्यो, उनले आलोचना गर्न छाडेनन् । चाहे त्यो केपी शर्मा ओली हुन्, या त माधवकुमार नेपाल वा गिरिजाप्रसाद कोइराला नै किन नहुन् ।
जीवनको उत्तरार्द्धतिर यही चिन्तनशीलता गहिरिँदै गर्दा उनको शरीरले साथ दिन छाड्दै गयो । पार्किन्सन्स रोगले उनको लेखनीलाई बिस्तारै रोक्दै गयो । तर, उनले व्यक्त गरेका विचार, लेखेका साहित्य र सार्वजनिक चिन्तन नेपाली समाज, राजनीति र वाङ्मयका लागि अझ धेरै वर्षसम्म प्रेरणा र सन्दर्भ बनेर बाँचिरहने पक्का छ ।
प्रदीप नेपाल उर्फ सञ्जय थापा, अब भौतिक रूपमा हामीबीच रहेनन् । तर, उनको विद्रोही चेत, स्वतन्त्र चिन्तन, मौलिक लेखन र सत्य बोल्ने साहसले उनलाई नेपाली जनमानसमा सधैँ जिउँदो राख्नेछ ।
अलबिदा कमरेड सन्जय थापा !
