सिंहदरबार पासका लागि घाममा पसिना चुहाउँदै तड्पिनुपर्ने अवस्थाको अन्त्य गर्न माग

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Demand an end to the situation of sweating in the sun for the Singha Durbar pass

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारको गेटमा देखिने अवस्थालाई कुशासनको एउटा जिउँदो नमुना बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले देशमा अनियमितता, बेथिति र कुशासन व्याप्त रहेको उल्लेख गर्दै, सिंहदरबारको गेटमा देखिने जनताको भीड र लाइन त्यस्तो अवस्थाको प्रमाण भएको धारणा राखेका हुन्।

उनले सिंहदरबारभित्र मन्त्रालयहरू थुपारेर चारैतिर पर्खाल र फलामे गेटले घेरेर जेलजस्तो बनाइएर जनतालाई प्रवेश निषेध गरिएकोप्रति आपत्ति जनाएका छन् । गेट पास प्राप्त गर्न नागरिकहरूलाई चर्को घाममा पसिना चुहाउँदै लामो समय तड्पिनुपर्ने अवस्था रहेको र त्यसको अन्त्य गरिनुपर्ने माग गरे ।

सांसद ज्वालाले सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घूस खोरी बढिरहेको बताउँदै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरी सरकारले पारदर्शिता कायम गर्न खोजेको दाबीको औचित्यमाथि प्रश्न उठाएका छन्। साथै, प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

उनले सिंहदरबारको दक्षिण गेटमा मन्त्री, सांसद तथा कर्मचारी सहज रूपमा प्रवेश गर्ने तर जनता भने घाममा उभिएर पासका लागि पर्खिनुपर्ने अवस्था अस्वीकार्य भएको बताउँदै त्यतातिर सरकारले ध्यान दिनुपर्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully