काठमाडौँ — वामपन्थी नेता प्रदीप नेपालको अन्त्येष्टि आजै हुने भएको छ । उपचारका क्रममा मंगलबार दिउँसो नेपालको निधन भएको थियो । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबाट उनको शव पशुपति आर्यघाट लगिइसकेको छ । पारिवारिक स्रोतका अनुसार विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि हुनेछ ।
एमाले नेता भए पनि उनकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम भने नराखिने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले भने, 'पार्टीले श्रद्धाञ्जलीका कार्यक्रम नराखोस् भन्ने इच्छा उहाँले परिवारका सदस्यसँग राख्नु भएको रहेछ । त्यहीअनुसार नै उहाँको अन्त्येष्टि हुनेछ । पार्टीका नेताहरू व्यक्तिगत रूपमा भने सहभागी हुनेछ । पूर्वमन्त्री भएकाले सरकारले आफ्नो तर्फबाट केही सम्मान देला । '
नेपाल केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए ।
तस्बिरहरू : दीपक केसी/कान्तिपुर
पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले 'बर्बरिक' उपन्यास लेखेका छन् ।
त्यस्तै 'एक्काइसौँ शताब्दीकी सुम्निमा', 'बाघमारेको लालसलाम', 'देशको खोजी', 'पाइला छाडेर अस्ताएको घाम', 'आमाको मन', 'सञ्जय थापाका कथाहरू', 'जननी जन्मभूमिश्च', 'फेवाको सुस्केरा', 'देउमाईको किनारमा' लगायतका कृति प्रकाशित छन् ।
