एमालेमा पुरुष नेता चुपचाप, बोल्ने आँट गर्दै महिला

एमालेभित्र फरक मत राख्ने नेताको खडेरी पर्दै गएका बेला केही महिला नेताले भने कतिपय निर्णयविरुद्ध निर्भीक रूपमा आफ्नो धारणा राख्दै आएका छन्

वैशाख २३, २०८२

गंगा बीसी

Male leaders in UML are silent, women dare to speak

काठमाडौँ — एमालेकी नेता विद्या भट्टराईले काम गर्न असहज भएपछि वैशाख ८ मा शिक्षामन्त्रीबाट राजीनामा दिइन् । एमालेका धेरैजसो नेताले शिक्षक आन्दोलन चलिरहेका बेला भट्टराईले राजीनामा दिएर ‘मैदान छाडी भागेको’ टिप्पणी गरे । तर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित केही महिला नेताले भने उनले राजीनामा दिएर ‘नैतिक बल उच्च बनाएको’ टिप्पणी गरे । उपाध्यक्ष शाक्यको भनाइलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सचिवालय बैठकमा असन्तुष्टि जनाए ।

शाक्यले सामाजिक सञ्जालको स्टाटसमा लेखेजस्तो भट्टराईलाई अप्ठ्यारो नभएको दाबी गर्दै ओलीले भने, ‘उहाँले काम गर्न नसकेर राजीनामा दिनुभएको हो ।’ बैठकमा शाक्यले निवर्तमान शिक्षामन्त्री इमानदार र योग्य ठानेर आफ्नो धारणा सार्वजनिक गरेको बताएकी थिइन् ।

प्रधानमन्त्रीले स्टाटसबारे प्रश्न गरेपछि शाक्यले जवाफ दिएकी थिइन्, ‘मैले शिक्षक आन्दोलन चलिरहेका बेला विद्याले राजीनामा दिनुपर्ने अवस्था किन आयो भनेर लेखेको हो, उहाँ इमानदार र असल मान्छे हो, प्रधानमन्त्रीले नै शिक्षामन्त्री बनाउनुभएको हो, राजीनामा दिने अवस्थामा पुर्‍याउनु हुँदैनथ्यो, एमालेमा धेरै महिला नेता छन्, महिलालाई राजनीतिमा लाग्न अहिले पनि सजिलो छैन, महिला नेतालाई विचलित पारिनु हुँदैन भनेर बोलेको हुँ ।’

शाक्यले पार्टीभित्र हरेक विषयमाथि खुलस्त छलफल गर्न पाउनुपर्ने बताएकी थिइन् । ‘हामीलाई लागेको कुरा तपाईं (अध्यक्ष ओली) लाई भन्नुपर्छ, तपाईंलाई लागेको कुरा हामीलाई भन्ने हो,’ उनले बैठकमा भनेकी थिइन्, ‘पार्टी बलियो बनाउने आधार आलोचना हो, पार्टीमा खुलस्त कुरा राख्ने परिपाटी विकास हुनुपर्छ, कम्युनिस्टको हृदय फराकिलो हुनुपर्छ ।’

भट्टराईले राजीनामा दिएलगत्तै उपाध्यक्ष शाक्यले उनको कदमले नैतिक धरातल बलियो बनाएको धारणा सामाजिक सञ्जालमा राखेकी थिइन् । ‘शिक्षक आन्दोलन चलिराखेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएका कारणले राजीनामा दिनुपरेको हो । उहाँलाई सहयोग किन भएन ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैका लागि सधैं प्रेरणा बनोस् ।’ भट्टराईले मन्त्रीबाट राजीनामा दिएपछि एमाले केन्द्रीय सदस्य रचना खड्काले उनको तस्बिर राखेरै समर्थन गरेकी छन् । ‘योग्य वा इमानदार मात्र हुन जति सजिलो छ, योग्य र इमानदार दुवै हुन कैयौं गुणा कठिन छ, तपाईं योग्य र इमानदार दुवै हो दिदी,’ उनले लेखेकी छन् । एमालेभित्र फरक मत राख्ने नेताको खडेरी पर्दै गएका बेला केही महिला नेताले भने कतिपय निर्णयविरुद्ध आफ्नो धारणा राख्ने आँट गर्दै आएका छन् ।

पछिल्लो समय आफ्नै दलका प्रधानमन्त्री भएका बेला काम गर्न असहज भएपछि भट्टराईले राजीनामा दिएर ‘मौन विद्रोह’ गरेकी छन् । पति रवीन्द्र अधिकारीको २०७१ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि प्राध्यापन छाडेर सक्रिय राजनीतिमा आएकी भट्टराई गत असारमा शिक्षामन्त्री भएकी थिइन् । मन्त्री भएको केही समयपछि उनले काम गर्न सहज नभएको निकट नेताहरूसँग बताउँदै आएकी थिइन् । 

‘मन्त्री भएको तीन महिनादेखि नै विद्याले काम गर्न असहज भएको बताउँदै आउनुभएको थियो, पछिल्लो समय शिक्षक आन्दोलन भइरहेका बेला त्यो असहजता झन् बढ्यो, त्यसपछि राजीनामा दिएर मौन विद्रोह गर्नुभयो,’ एमालेकी एक महिला नेता भन्छिन् ।

भट्टराईले राजीनामा दिनुको कारण सार्वजनिक रूपमा बताएकी छैनन् । तर निकट नेताहरूसँग त्यसबेलाको अप्ठ्यारो ‘सेयर’ गर्दै आएकी थिइन् । शिक्षा मन्त्रालयअन्तर्गत दूरशिक्षा कार्यक्रमलाई भट्टराईको सहमतिबिना नै मंसिर पहिलो साता प्रधानमन्त्री कार्यालयअन्तर्गत लगियो । एसईई र लोक सेवालगायतको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निजी कम्पनी ‘एम्बिसन गुरु’ मार्फत दूरशिक्षा कार्यक्रम चलाउन खोजिएको थियो । दूरशिक्षा कार्यक्रमले एसईईसहित विद्यालय तहको अनलाइन कक्षाको उत्पादन र प्रसारण गर्छ । सरकारी दूरशिक्षा कार्यक्रम प्रधानमन्त्रीका अवैतनिक सूचना विज्ञ असगर अलीको स्वामित्व रहेको निजी कम्पनी ‘एम्बिसन गुरु’लाई दिने तयारी भएपछि भट्टराईले असहमति जनाएकी थिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको दूरशिक्षा कार्यक्रम दुई सातापछि पुनः शिक्षा मन्त्रालयतिरै फर्काइयो । ‘दूरशिक्षा कार्यक्रम एम्बिसन गुरुमा लाने कुरा विद्याले अस्वीकार गर्नुभयो,’ उनीनिकट एक नेता भन्छन्, ‘विद्याले अस्वीकार गरेपछि पनि एम्बिसन गुरुलाई दूरशिक्षा कार्यक्रम दिन प्रधानमन्त्रीको टिम नै लागेको थियो ।’

‘शिक्षकका माग सम्बोधनका विषय मात्र होइन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा प्रकरणदेखि त्रिविको मिचिएको जग्गा छानबिन गर्ने विषयमा प्रधानमन्त्रीबाट सहयोग भएन,’ भट्टराईको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेता भन्छन् । 

Male leaders in UML are silent, women dare to speak

भाटभटेनीका प्रमुख सञ्चालक मीनबहादुर गुरुङको दानबाट गत असोज २५ मा केन्द्रीय कार्यालय बनाउने निर्णयको असहमति जनाएका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गत कात्तिकमा स्पष्टीकरण सोधिएको थियो । दुई नेताले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पुस १० को केन्द्रीय सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको थियो । निलम्बनको निर्णय गरिए पनि औपचारिक पत्र भने दिइएको थिएन । 

आइतबार सचिवालय बैठकमा दुई नेताको निलम्बन फुकुवा गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन । उपाध्यक्षहरू शाक्यसहित युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले निलम्बन फुकुवाबारे चासो राखे पनि अध्यक्ष ओलीले टारेका थिए । ‘आज बैठकमा जानुपर्छ, अर्को बैठकमा छलफल गरौंला,’ ओलीले भनेका थिए ।

पाण्डे र तिम्सेना दानबाट केन्द्रीय कार्यालय बनाउनु हुँदैन भन्ने धारणा सार्वजनिक गरेकै कारण निलम्बनमा परेका थिए । त्यतिबेला आत्मालोचना गर्न नेतृत्वबाट दबाब भए पनि दुई नेताले ‘दानबाट केन्द्रीय कार्यालय बनाउनु सही नभएको’ तर्कसहित स्पष्टीकरणको जवाफ दिएका थिए । जवाफ चित्त नबुझेको भन्दै उनीहरूलाई निलम्बन गरिएको थियो । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र निलम्बित नेता पाण्डेबीच वैशाख २ मा बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा ओलीले पार्टीमा काम गर्न आग्रह गरेको पाण्डे बताउँछिन् । ‘निलम्बन रिभ्यु गरेको मलाई थाहा छैन,’ उनी भन्छिन्, ‘त्यो भेटमा अध्यक्षले पार्टीमा काम गर्न भन्नुभएको हो । तर निलम्बन रिभ्यु नभएको अवस्थामा के काम गर्नु र ?’ 

निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेना वैचारिक मूल्यका आधारमा आफूले बोल्दै आएको बताउँछिन् । ‘हामीले आन्दोलन र राजनीतिक संघर्षमा जे सिकेर आयौं, त्यसैका आधारमा बोल्दै आएको हो,’ उनी भन्छिन्, ‘विगतमा नेताहरूले वैचारिक मूल्यमान्यताका आधारमा फरक मत राख्नुहुन्थ्यो, अहिले निरुत्साहित गरिएको छ, पार्टीमा फरक विचारलाई निषेध गरेर अघि बढ्न सकिँदैन ।’ 

...

पार्टीभित्र बोल्ने आँट गर्नुपर्छ

 Male leaders in UML are silent, women dare to speakअष्टलक्ष्मी शाक्य, उपाध्यक्ष एमाले

हो, मैले यतिबेला सामाजिक सञ्जालबाट पनि विद्याले राजीनामा दिनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेकै हो । त्यही कुरा आइतबार सचिवालय बैठकमा पनि राखें । मैले आफ्ना कुरा अध्यक्ष एवं प्रधानमन्त्रीसमक्ष सम्मानका साथ राखेको हो । प्रधानमन्त्रीले पनि मेरो कुरा सुन्नुभयो । हामीले आफ्ना कुरा पार्टीमा भन्ने आँट गर्नुपर्छ । 

पार्टीभित्र हार्दिकता चाहिन्छ, गुटबन्दी होइन । हाम्रो मुख्य कुरा विचार नै हो । आफ्ना विचार राख्नुपर्छ । राजनीतिमा विचार खोक्रो हुन दिनु हुँदैन । केही विवाद भए छलफलद्वारा समाधान गर्नुपर्छ । हामीले त मिसन ०८४ पनि भनेका छौं, पार्टी सशक्त बनाउन अझ खुला छलफल हुनुपर्छ ।

मैले आफूलाई सही लागेको कुरा बहस र छलफलका लागि राखेको हो । हिजोका दिनमा एमालेमा विवाद हुन्थ्यो, तर छलफल गरेर समाधान हुन्थ्यो । पार्टीमा कोही नेताको पछि लाग्नुपर्छ भन्ने छैन, विचारले पार्टीको नेतृत्व गर्नुपर्छ । संगठनात्मक अनुशासन कायम राख्नुपर्छ । जहाँ विचार कमजोर हुन्छ, त्यहाँ गुटबन्दी हुन्छ भनेर नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठले भन्नुभएको थियो ।

पार्टीभित्र स्वस्थ आलोचना हुनुपर्छ भन्नेमा विवाद छैन । आलोचना नहुने हो भने कम्युनिस्ट पार्टी बन्दैन । फरक विचार, आलोचना सहन नसक्ने धेरै कम्युनिस्ट पार्टी टुक्राटाक्री भएका छन् । पार्टी नेतृत्व सहनशील हुनुपर्छ । धेरैको आलोचना सुन्नुपर्छ । हृदय फराकिलो हुनुपर्छ । पार्टीमा फरक कुरा राख्नेबित्तिकै आफूविरुद्ध गयो भन्नु हुँदैन । पार्टीभित्र आफूलाई लागेको कुरा सबैले बोल्ने आँट गर्नुपर्छ ।

गंगा

Link copied successfully