काठमाडौँ — एमालेभित्र फरक मत राख्ने नेताको खडेरी पर्दै गएका बेला केही महिला नेताले भने कतिपय निर्णयविरुद्ध निर्भीक रूपमा आफ्नो धारणा राख्दै आएका छन् । मालेकी नेता विद्या भट्टराईले काम गर्न असहज भएपछि वैशाख ८ मा शिक्षामन्त्रीबाट राजीनामा दिइन् ।
एमालेका धेरैजसो नेताले शिक्षक आन्दोलन चलिरहेका बेला भट्टराईले राजीनामा दिएर ‘मैदान छाडी भागेको’ टिप्पणी गरे । तर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित केही महिला नेताले भने उनले राजीनामा दिएर ‘नैतिक बल उच्च बनाएको’ टिप्पणी गरे । उपाध्यक्ष शाक्यको भनाइलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सचिवालय बैठकमा असन्तुष्टि जनाए । शाक्यले सामाजिक सञ्जालको स्टाटसमा लेखेजस्तो भट्टराईलाई अप्ठ्यारो नभएको दाबी गर्दै ओलीले भने, ‘उहाँले काम गर्न नसकेर राजीनामा दिनुभएको हो ।’ बैठकमा शाक्यले निवर्तमान शिक्षामन्त्री इमानदार र योग्य ठानेर आफ्नो धारणा सार्वजनिक गरेको बताएकी थिइन् । उनै शाक्यसँगको कुराकानी :
नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुको कारणबारे तपाईंले पार्टीभित्र प्रश्न उठाउनुभयो नि ?
हो, मैले यतिबेला सामाजिक सञ्जालबाट पनि विद्याले राजीनामा दिनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेकै हो । त्यही कुरा आइतबार सचिवालय बैठकमा पनि राखें । मैले आफ्ना कुरा अध्यक्ष एवं प्रधानमन्त्रीसमक्ष सम्मानका साथ राखेको हो । प्रधानमन्त्रीले पनि मेरो कुरा सुन्नुभयो । हामीले आफ्ना कुरा पार्टीमा भन्ने आँट गर्नुपर्छ ।
तर एमालेभित्र फरक मत राख्ने नेताको खडेरी देखिन्छ ?
पार्टीभित्र हार्दिकता चाहिन्छ, गुटबन्दी होइन । हाम्रो मुख्य कुरा विचार नै हो । आफ्ना विचार राख्नुपर्छ । राजनीतिमा विचार खोक्रो हुन दिनु हुँदैन । केही विवाद भए छलफलद्वारा समाधान गर्नुपर्छ । हामीले त मिसन ०८४ पनि भनेका छौं, पार्टी सशक्त बनाउन अझ खुला छलफल हुनुपर्छ ।
एमालेमा आफ्नो धारणा राख्दा तपाईंलगायत केही महिला नेताले आलोचना खेप्नुपरेको छ नि ?
मैले आफूलाई सही लागेको कुरा बहस र छलफलका लागि राखेको हो । हिजोका दिनमा एमालेमा विवाद हुन्थ्यो, तर छलफल गरेर समाधान हुन्थ्यो । पार्टीमा कोही नेताको पछि लाग्नुपर्छ भन्ने छैन, विचारले पार्टीको नेतृत्व गर्नुपर्छ । संगठनात्मक अनुशासन कायम राख्नुपर्छ । जहाँ विचार कमजोर हुन्छ, त्यहाँ गुटबन्दी हुन्छ भनेर नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठले भन्नुभएको थियो ।
एमाले नेतृत्वले आलोचना सहन नसक्ने अवस्था आएको हो ?
पार्टीभित्र स्वस्थ आलोचना हुनुपर्छ भन्नेमा विवाद छैन । आलोचना नहुने हो भने कम्युनिस्ट पार्टी बन्दैन । फरक विचार, आलोचना सहन नसक्ने धेरै कम्युनिस्ट पार्टी टुक्राटाक्री भएका छन् । पार्टी नेतृत्व सहनशील हुनुपर्छ । धेरैको आलोचना सुन्नुपर्छ । हृदय फराकिलो हुनुपर्छ । पार्टीमा फरक कुरा राख्नेबित्तिकै आफूविरुद्ध गयो भन्नु हुँदैन । पार्टीभित्र आफूलाई लागेको कुरा सबैले बोल्ने आँट गर्नुपर्छ ।
