दाहाललाई भट्टराईको प्रश्न : एउटा कर्मचारी हटाउँदा मुटुमै गोली लागेजस्तो किन भयो ?

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

Bhattarai's question to Dahal: Why did it feel like a bullet in the heart when removing an employee?

काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने बताएका हुन् । 

उनले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोप्रति संकेत गरेका हुन् । सांसद भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरणसमेत गराए । उनले यसअघि दाहाल नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए । 

योगेश भट्टराईको भनाइ

केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अविशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समीक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईंले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सम्झिनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईंले ? अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ ।

कान्तिपुर

Link copied successfully