एनओसी नलिई अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्री

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

There is no accurate data of students going to India for studies without taking NOC: Education Minister

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री पन्तले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरे पनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिई जाने गरेको बताए । उनले कति विद्यार्थी उक्त ओडिसाको किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने यकिन तथ्यांक मन्त्रालयसँग नभएको पनि बताए । 

विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्यांकलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको मन्त्री पन्तको भनाइ थियो । ‘यो घटना हुनासाथ मैले मन्त्रालयमा सम्बन्धित अधिकारीलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यसबारेमा के भएको हो डिटेल बुझ्न भनेको छु । त्यसबारेमा हाम्रो मन्त्रालयले आवश्यक कोअर्डिनेसन पनि गरेको छ । कति गएका छन् भनेर देवेन्द्र पौडेलले तथ्यांक उठाउनुभएको छ, त्यो तथ्यांक हामीसँग यकिन रुपमा छैन । केहीले एनओसी लिएर गएका छन् तर सबैले एनओसी लिएर गएका छैनन्,' पन्तले भने, 'त्यसैले एनओसी लिएर गएकाको तथ्यांक हामीसँग छ तर भारत जानका लागि बोर्डर खुला छ । धेरै धेरै विद्यार्थीहरू एनओसी नलिई भारतमा पढ्न जाने गरेको पाइन्छ । त्यसैले यकिन तथ्यांक नभएकाले सम्बन्धित शिक्षा संस्थाकै तथ्यांकलाई आधिकारिक मान्नु पर्ने अवस्था छ ।'

मन्त्री पन्तले उक्त विश्वविद्यालय वा अन्य शिक्षण संस्थामा नेपालका कुनकुन एजेन्सीले विद्यार्थी पठाउँछन् भन्ने पत्ता लगाउन निर्देशन दिएको पनि जानकारी दिए ।   

कान्तिपुर

Link copied successfully