नेतृत्वमाथि आरोप लगाउने कोषाध्यक्ष पक्राउ, उपाध्यक्ष निलम्बित, नेता–कार्यकर्ता बार्गेनिङमा
जनकपुर,सिराहा — जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष दीपककुमार साहले गत वैशाख ८ गते पार्टी नेतृत्वमा देखिएको वित्तीय अनियमितता र शक्ति दुरुपयोग सम्बन्धी गम्भीर आरोप लगाउँदै विज्ञप्ति नै सार्वजनिक गरे । जनमत अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतमाथि आर्थिक हिनामिनासँग जोडिएका प्रकरण सार्वजनिक गर्दै साहले छानबिनको मागसमेत गरेका छन् ।
पार्टी अनुशासन विभागका प्रमुखसमेत रहेका साहले आर्थिक मामिलामा अध्यक्ष राउत अपारदर्शी र पार्टीमा परिवारवादलाई च्याप्ने गरेको आरोप लगाएका छन् । जनमतको मुख्यालय जनकपुरमा आफ्नै भवनमा छ ।
‘मधेश आश्रम’ नाम राखिएको पार्टी मुख्यालय जनमतका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र मधेश प्रदेश सांसद वसन्त कुशवाहाले व्यक्तिगत खर्चमा निर्माण गरेको साहको दाबी छ ।
‘जनकपुरमा मधेश आश्रम बनाउने क्रममा जग्गा खरिददेखि भवन निर्माणसम्मको म साक्षी हुँ,’ साहले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मधेश आश्रम निर्माणका लागि राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोगको प्रतिक्रिया शून्य भएपछि यादव र कुशवाहाको खर्चमा भवन निर्माण भएको थियो ।’
जनमत पार्टीको मुख्यालय जनकपुर र काठमाडौंको इमाडोलमा रहेको केन्द्रीय सम्पर्क कार्यालय दुवै घर कोषाध्यक्ष यादवले पत्नी ललितादेवी यादवको नाममा राखेपछि अध्यक्ष राउत र यादवबीच विवाद चुलिएको थियो । राउतकै निर्देशनमा कोषाध्यक्ष यादवमाथि ललितपुर प्रहरी परिसरमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा जाहेरी दिइयो । जाहेरीपछि सप्तरी प्रहरीले गत वैशाख ७ गते यादवलाई राजविराजबाट पक्राउ गरेर ललितपुर प्रहरीको जिम्मा लगाइदियो । उनै यादवको गिरफ्तारीमा आपत्ति जनाउँदै अनुशासन विभाग प्रमुख साहले पार्टी नेतृत्वप्रति गम्भीर आरोप लगाएका हुन् ।
जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीको कोष अपचलन भएको हो/होइन र जनकपुरको मधेश आश्रम, इमाडोलको घर र कोटेश्वरमा रहेको प्रवासी होटेलमा भएको अनियमितता छानबिन गर्न र कानुनी प्रक्रियामा जान केन्द्रीय सचिवालय बैठकले निर्णय गरिसकेको बताए । प्रवक्ता डा. यादवले जारी गरेको विज्ञप्तिमा ललितपुर प्रहरीले पनि विभिन्न सबुत–प्रमाण बुझेर, बैंक स्टेटमेन्ट हेरेर, साक्षीसँग बयान लिएर ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा तत्कालीन कोषाध्यक्ष यादवलाई पक्राउ गरेको दाबी गरेका छन् ।
‘भ्रम फैलाइएजस्तो डा. राउत बस्ने जनकपुरको मधेश आश्रम वा इमाडोलको घर कुनैपनि राउत र उहाँको परिवारको नाममा छैन,’ प्रवक्ताले यादवले भने, ‘ती दुवै घर यादवकी पत्नी ललिताको नाममा छ । पार्टीले दुवै घर पार्टीको नाममा नामसारी गर्न ताकेता गर्दै आएको थियो ।’ यादवकी पत्नी ललिता भने मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगकी सदस्य छिन् ।
तर, अनुशासन विभाग प्रमुख साहले गत निर्वाचनमा तत्कालीन कोषाध्यक्ष यादवलाई संसदीय टिकट नदिनु र समानुपातिक सूचिमा राख्न पनि रकम माग गरिएपछि राउत र यादवबीच जनकपुरको मधेश आश्रम र इमाडोलको घरलाई लिएर किचलो बढेको आरोप लगाएका छन् ।
‘पार्टी निर्माणमा महत्त्वपूर्ण समय खर्चेका यादवलाई सप्तरीको संसदीय क्षेत्र नं. १ बाट टिकट नदिएर संगठनमा योगदान नै रहेका राउतका दाजु जयकान्त राउत उम्मेदवार बनाइनु नै वातावरण बिग्रिने प्रमुख कारण बन्यो,’ साहले विज्ञप्तिमा भनेका छन् । सप्तरी–१ मा जनमतबाट चुनाव लडेका जयकान्त पराजित भएका थिए । ‘करोडौँ खर्चेर जनकपुरमा घर निर्माणपछि पनि समानुपातिक सूचीमा नाम राख्न यादवसित ५० लाख रुपैयाँ मागियो,’ साहले भने । ‘मधेश लौट चले’ नारा दिँदै राउत सांसद बनेपछि इमाडोलमा भव्य घर र पार्किङको लागि छुट्टै जग्गा खरिद गर्दा भ्रष्टाचारको गम्भीर आशंका रहेको बताउँदै साहले त्यसको छानबिन जरुरी रहेको माग गरेको छ ।
जनमतका प्रवक्ता डा. यादवले पार्टी फुटाउन स्कारपियो गाडी र ठूलो रकम अन्य स्रोतबाट बुझेको, जासुसको रूपमा पार्टीमा खटिएको, सरुवा–बढुवा गरिदिने भन्दै पैसा उठाउने गरेको र पार्टीमा गुटबन्दी गरेको भन्दै उपाध्यक्ष साहलाई निलम्बन गरिएको बताए ।
‘पार्टीको लेटरहेड प्रयोग गरेर इन्जिनियर, डाक्टर, आप्रवासी नेपाली र व्यवसायीबाट पैसा लिएपनि हरहिसाब नबुझाएको विषयमा साहमाथि थप छानबिन हुँदैछ,’ जनमत प्रवक्ता डा. यादवले भने, ‘उनको आफ्नै खातामा पनि बुझेको लेबी रकमको विषयमा अनुसन्धान भइरहेको छ ।’
कारबाहीमा परेका पदाधिकारीहरूले समानुपातिक सांसद र मन्त्री नबनाइँदा ब्ल्याकमेलिङ गर्दै आएको आरोप लगाउँदै प्रवक्ता डा. यादवले सांसद नभएपनि ‘६ महिनाका लागि मन्त्री बनाइदिनु पर्यो नभए पार्टीलाई ध्वस्त पार्छु’ भन्दै नेतृत्वलाई धम्क्याउँदै आएको बताएका छन् ।
स्वराज र सुशासनको मुद्दा बोकेका जनमत पार्टी ०७९ को निर्वाचनबाट राजनीतिमा उदाएको दल हो । जनमतको संघीय संसद्मा ६ जना, मधेश प्रदेशमा १३ जना र लुम्बिनी प्रदेशमा ३ जना सांसद छन् । मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वमा सरकार छ । नागरिक उन्मुक्ति पार्टीसित एकीकरणको अन्तिम पर्खाइमा रहेको जनमत त्यसपछि थप शक्तिसहित अझ ठूलो दल बन्नेछ ।
बार्गेनिङमा नेता–कार्यकर्ता
कान्तिपुरले दुई जनाबीचको गोप्य संवादको एउटा रेकर्ड फेला पारेको छ, जसमा जनमतका एक केन्द्रीय नेताले सरकारी कर्मचारीसँग सरुवाका लागि रकम माग गर्छन् । यस विषयमा छानबिन र कारबाहीका लागि पार्टीमा उजुरी परेको छ । तर, कतिसम्म भने यसमा संलग्नलाई कारबाही गर्नुको साटो पार्टीले उजुरी गर्नेमाथि नै डण्डा चलाएको पाइएको छ ।
उक्त संवादको अडियो जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज एवं पार्टी प्रवेश समन्वय समितिका केन्द्रीय संयोजक माधवप्रसाद सिंह र प्रदेशका नवौं तहका कर्मचारी ओमकुमार साहबीचको हो । अडियो उपलब्ध गराएका स्रोतका अनुसार २०८१ पुसको तेस्रो साता उनीहरूबीच यो संवाद भएको थियो ।
जनकपुरस्थित होटेल रामामा भएको १४ मिनेटको बार्गेनिङका क्रममा जनमतका नेता सिंहले कर्मचारी साहसँग सप्तरीस्थित पूर्वाधार विकास कार्यालय सरुवाका लागि २५ लाख रुपैयाँ माग गरेका थिए । प्रदेश लोकसेवा आयोगबाट २०८१ मंसिरमा नाम निकालेका साहको पदस्थापना भएको थिएन । लोकसेवामा नाम निकाल्नुअघि साह जनमत पार्टीकै कार्यकर्ता थिए । उनी पार्टीको भातृ संगठन इन्जिनियर जनमत संघका महासचिव भएर काम गरिसकेका छन् । प्रदेशमा जनमतकै सरकार रहेको अवस्थामा नाम निस्केपछि उनले पार्टीका नेताहरूसँग पदस्थापनाका लागि सहयोग मागेका थिए ।
त्यही क्रममा सिंहले साहसँग रकम माग गरेका हुन् । सिंहले साहलाई पूर्वाधार विकास कार्यालय, सप्तरीमा पदस्थापना गर्ने विषयमा पार्टी अध्यक्ष डा. सीके राउत र मुख्यमन्त्री सतिशकुमार सिंहसँग कुरा भइसकेको र यसका लागि २५ लाख रुपैयाँ पार्टीलाई सहयोग गर्नुपर्ने अडियोमा भनेका छन् । साहले त्यसपछि उनलाई आफू नयाँ भएको भन्दै केही रकम कम गरिदिनका लागि आग्रह गरेका छन् । तर, सिंहले पूर्वाधार कार्यालयको प्रमुख बन्नका लागि २५ लाख रुपैयाँ न्यूनतम भएको र बढी बजेट भएको यस्ता जिल्लामा जानका लागि अन्य कर्मचारीले एक करोडसम्म दिने गरेको भन्दै कम गर्न नसकिने जवाफ दिएका छन् ।
साहले त्यसपछि पनि पटकपटक डा. राउत र मुख्यमन्त्री सिंहसँग कुरा गरेर केही रकम यताउता गरिदिन आग्रह गर्छन् । तर, पार्टीको अन्य कुनै आम्दानी नहुने र यस्तै सहयोगले पार्टी चल्ने गरेको भन्दै उनले अहिले २० लाख र पछि ५ लाख दिन भनेका छन् । रकममा यताउता नहुने भएपछि साहले पैसा खातामै हाल्नुपर्छ वा नगद दिनुपर्छ भनेर सोधेका छन् । जवाफमा सिंहले नगद नै राम्रो हुने र काठमाडौंमा रकम बुझ्ने भनेका छन् । यस्तै, उनले साहलाई छिटो रकम बुझाएर कार्यभार सम्हाली काम गर्न आग्रह गर्दै पार्टीले सबैखाले सहयोग गर्ने तत्पर रहने आश्वासन दिएका छन् ।
पैसा नदिई पदस्थापना नहुने भनेपछि साहले २०८१ पुस २१ मा यसबारे पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष दीपककुमार साहसँग गुनासो गरेका थिए । उपाध्यक्ष साहले तत्कालै पार्टी अध्यक्ष राउत, उपाध्यक्ष एवं अनुशासन समितिका सदस्य नरेन्द्रप्रसाद चौधरी र पार्टीका नेता राजेश मण्डललाई जानकारी गराए । उपाध्यक्ष साहले यस्तो कामले पार्टीको छवि धुमिल पार्ने भन्दै सिंहलाई स्पष्टीकरण सोध्ने विषयमा अध्यक्ष राउतसँग सल्लाह गरे । तर, आफूले पटकपटक आग्रह गर्दा पनि अध्यक्ष राउतले स्पष्टीकरण सोध्न नदिएको साह बताउँछन् । यस विषयमा कुनै सुनुवाइ नभएपछि कर्मचारी साहले २०८१ माघ ९ मा उपाध्यक्ष साहलाई लिखित उजुरी नै पठाए ।
उपाध्यक्ष साहले माघ १० मा उक्त उजुरी उपाध्यक्ष एवं अनुशासन समिति सदस्य चौधरीलाई पठाए । तैपनि यसमाथि कुनै कारबाही नभएपछि माघ १२ मा उपाध्यक्ष साहले चौधरीलाई स्पष्टीकरणको ड्राफ्ट नै पठाए । घटना दबाउने प्रयास भएपछि साहले फेरि फागुन २१ मा चौधरीलाई पत्र लेख्दै सिंहलाई स्पष्टीकरण सोध्न आग्रह गरे । तर, सोही दिन साँझ साहलाई नै पार्टीले स्पष्टीकरण सोध्यो ।
त्यसपछि फागुन २५ मा अध्यक्ष राउतलाई सम्बोधन गर्दै साहले सिंहलाई ४८ घण्टाभित्र बर्खास्त गर्न अनुरोध गर्दै सचिवालयलाई पत्र लेखे । यसरी पटकपटक गुनासो, उजुरी र पत्रको सिलसिला चले पनि यसमाथि कुनै कारबाही नभएपछि साहले फेरि चैत १३ मा यसबारे पार्टीमा ध्यानाकर्षण गराए । तर, चैत १४ मा उपाध्यक्ष साहलाई नै ६ महिनाका लागि पार्टीले निलम्बन गरेको छ ।
उनै माधवप्रसाद सिंह र पर्साका संयोजक ओम प्रकाश सर्राफमाथि २०८१ असोज ८ मा पार्टीमा अर्को उजुरी पनि परेको थियो । जनमतका केन्द्रीय सदस्य राजेश चौरसियाले एक कर्मचारीको सरुवाका लागि आफूसँग उनीहरूले १४ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कमलराज गौतमलाई सरुवा गरिदिनका लागि आफूले सुरुमा मुख्यमन्त्रीलाई आग्रह गर्दा काजमा पठाइदिएको र दरबन्दी कायम गरिदिनका लागि आफूसँग उनीहरूले रकम लिएर पनि कायम नगराइदिएको उजुरीमा उनले लेखेका छन् । तर, यो उजुरीमाथि पनि अहिलेसम्म केही हुन सकेको छैन ।
