काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको कडा आलोचना गरेका छन् । उनले सरकार जनताको सेवामा भन्दा स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको आरोप लगाए ।
'गरिबको बिजुली काटिन्छ तर उद्योगीको अर्बौं बक्यौता उठाइँदैन,' संसद्मा संबोधन गर्दै उनले भने, 'यो विसंगतिले जनआक्रोश निम्त्याएको छ।' उनले सरकारको असंवेदनशीलताले लोकतन्त्र संकटमा परेको र प्रतिगामी शक्तिलाई बल पुगेको चेतावनी दिए ।
सरकारको कार्यशैलीले लोकतन्त्र नै संकटमा पारिएको उल्लेख गर्दै उनले भने, 'सामाजिक सञ्जालको आक्रोश भोलि सडकमा पोखिन सक्छ ।' सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप, बिचौलियाको प्रभाव देखिएको उनको भनाइ थियो ।
१० महिनाको कार्यकालमा सरकारले कुनै पनि दृष्टिले सुध्रिएको प्रमाण नदेखिएको भन्दै अध्यक्ष दाहालले सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको दाबी गरे । 'जब सत्ता संयन्त्रकै सदस्यहरूले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भएको भनी सार्वजनिक रूपमा बोल्न थाल्छन्, त्यो शासनको गम्भीर नैतिक पतन हो,' उनले भने ।
तराई–मधेश हुलाकी मार्ग अभियानका क्रममा जनतामा असन्तुष्टि र आक्रोश देखिएको उनले बताए ।कुशासनप्रति आक्रोश र सामाजिक न्याय, समानता तथा विकासको चाहना रहेको उनको भनाइ थियो । उनले नीति तथा कार्यक्रमलाई जनमुखी, समावेशी र उत्पादनमुखी बनाउन जोड दिए र उन्नत लोकतन्त्रबाट इतिहास उल्ट्याउने तत्वलाई परास्त गर्नुपर्ने सन्देश दिए ।
