वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : अध्यक्ष नेपाल

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

The current government has become a burden for the country, an alternative should be found: President Nepal

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकका लागि बोझ बनेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताए।

उनको आरोप छ कि वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरूको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि देखाएको छैन।

अध्यक्ष नेपालले सरकारले परम्परा धान्ने गरी मात्र नीति तथा कार्यक्रम ल्याएको बताए। उनले सरकार परिणामविहीन मात्र नभई उद्देश्यविहीन समेत भएको जिकिर गरे । सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरू नफुटेसम्म कुनै विकल्प सम्भव नहुने बताए।

अध्यक्ष नेपालले भने, ‘सरकार फेरबदलभन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनुपर्छ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। विगतमा जसरी सरकार परिणामविहीन थियो, अब उद्देश्यविहीन पनि भएको अवस्था छ। विगतका राम्रा कुराहरूलाई पनि छोडिएको छ। पुराना कुराहरूको पुनरावृत्ति पनि गरिएको छ। सरकार गतिहीन र यथास्थितिवादी अवस्थामा पुगेको छ। यसको विकल्प त खोज्नुपर्छ, तर विकल्प खोजेर मात्रै पार लाग्दैन। किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ। ती दुई पार्टी मिलेसम्म नयाँ सरकार बनाउने सम्भावना छैन। यस सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, जनतामा आशा जगाउन, युवाहरूको समस्या समाधान गर्न र देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुचि देखाएको छैन। त्यसैले यो सरकार मुलुकका लागि बोझ बनेको छ।’

अध्यक्ष नेपालले सरकार गतिहीन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।

कान्तिपुर

Link copied successfully