रास्वपाको प्रश्न : सरकार गठनको १० महिना भइसक्यो, जिबी राईलाई कहिले नेपाल ल्याइन्छ?

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

RSVP's question: It has been 10 months since the formation of the government, when will JB Rai be brought to Nepal?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइने हो? भनेर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार गठन भएको १० महिना बितिसक्दा पनि राईलाई पक्राउ नगरिएकोप्रति आपत्ति जनाए । उनले सरकारी ठगीमा संलग्न आफ्नै पार्टीका कार्यकर्ता मुछिन सक्ने डरले सरकारले राईलाई पक्राउ नगरेको आरोप पनि लगाए।

उनले रास्वपाले सहकारी पीडितका मुद्दा निरन्तर उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारलाई पीडितको रकम फिर्ता गर्न सुझाव दिएको कुरा पनि स्मरण गराए ।

सांसद पराजुलीले भने, 'तपाईंको पार्टी नेतृत्वको सरकार गठन भएको १० महिना भइसक्यो। गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ? जनताले यस्तै प्रश्न गरिरहेका छन्। बाहिर आएको जानकारीअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्रै राईले आफूले ल्याएको र तिर्छु भनेको सुनिएको छ। बाँकी ९ अर्बको भागेदार को–को हुन् भन्ने कुरा सार्वजनिक नहोस् भनेर राईलाई पक्राउ नगरिएको हो भन्ने हल्ला जनतामा फैलिरहेको छ। के यो सत्य हो?'

उनले थपे, 'रास्वपाले सहकारीका समस्याबारे केवल आवाज मात्र उठाएको होइन, अघिल्लो वर्ष नै सरकारलाई पीडितको रकम फिर्ता गर्न सुझाव पनि दिएको हो।'

सांसद पराजुलीले सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई कानूनी कठघरामा उभ्याई पीडितको बचत रकम फिर्ता गराउन सरकारलाई चेतावनीसहित ध्यानाकर्षण गराए ।

कान्तिपुर

Link copied successfully