भिसाविहीन श्रमिकलाई ओमानले दियो आममाफी, ३ महिनाभित्र स्वदेश फर्कनुपर्ने  

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Oman gave amnesty to visa-free workers, they have to return home within 3 months

काठमाडौँ — ओमान सरकारले भिसाविहीन भई कानुनी हैसियत गुमाएका नेपालसहित आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी दिएको छ । ओमानको श्रम मन्त्रालयले  भिसा सकिएर कानुनी हैसियतबिना बसोबास गरिरहेका श्रमिकलाई जरिवाना नतिरी स्वदेश फर्किन तीन महिनाको समय दिएको हो ।

यो योजनाअनुसार स्वदेश फर्किने नेपालीका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले  यो योजनाको लाभ लिन भिसाविहीन नेपालीलाई अनुरोध गरेको छ । ‘ओमान सरकारले यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने जनाएकोले समयभित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यो सुवर्ण अवसरको लाभ उठाउनु हुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकलाई अनुरोध गरिन्छ ।’

स्वदेश फिर्ती प्रक्रियाको लागि नेपाली दूतावासले सहजीकरण गर्ने जनाएको छ । यसका लागि दूतावासले स्वयंसेवी नियुक्त गरेको छ । ओमानमा करिब २२ हजार नेपाली कार्यरत छन् जसमध्ये १० हजार महिला रहेका छन् ।

नेपाली दूतावासका अनुसार भिसाविहीन नेपालीको संख्या यकिन गरिएको छैन । पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासले जनाएको हो । 

कान्तिपुर

Link copied successfully