३२ सिटको जादु चलाउन चाहे त चल्छ, तर सरकार बनाउने पक्षमा छैनौँ : अध्यक्ष दाहाल

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

If you want to use the magic of 32 seats, it will work, but we are not in favor of forming a government: President Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता मात्र पूरा गर्न ल्याइएको टिप्पणी गरेका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन्। उनका अनुसार सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुसार नीति तथा कार्यक्रम ल्याउन सकेको छैन। उनले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर धारणा बनाएको दाबी गरे।

उनले नीति तथा कार्यक्रम सिर्जनात्मक, रचनात्मक र जनता तथा राष्ट्रको पक्षमा नभई, गत वर्षको नीति तथा कार्यक्रमहरू कपिपेस्ट गरेर झारा टार्ने शैलीमा आएको आरोप लगाए।

दाहालले भने, ‘हामीले पूर्वदेखि पश्चिमसम्म जनतासँग जे संवाद गरियो र जनभावना जे बुझेँ, त्यसैको आधारमा धारणा राखेको हुँ। यो नीति तथा कार्यक्रम झारा टार्ने र औपचारिकता मात्र पूरा गर्ने खालको हो। गत वर्षको नीति तथा कार्यक्रम कपिपेस्ट गर्नु पनि झारा टार्नु नै हो। किनभने एक वर्षको अवधिमा धेरै विकास भइसकेको छ। नयाँ सिर्जनात्मक, रचनात्मक र जनता तथा राष्ट्रको पक्षमा कुनै कुरा छैन।’

फरक प्रसङ्गमा दाहालले अहिले आफ्नो ध्यान सरकार बनाउनेतर्फ नभई जनतामा जानेतर्फ रहेको बताएका छन्। उनले छिट्टै मध्य पहाडी लोकमार्ग अभियानतर्फ जान लागिएको जानकारी दिए।

उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन। हाम्रो ध्यान जनतामै जाने हो। हामी मध्य पहाडी लोकमार्ग अभियानतर्फ गइरहेका छौं। जादु चलाउन चाहे त चल्छ, तर अहिले हामी चलाउने पक्षमा छैनौँ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको उनको टिप्पणी छ। –न्युज एजेन्सी नेपाल

कान्तिपुर

Link copied successfully