काठमाडौँ — मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको बहुमत प्राप्त सरकारको अहंकारको बेलुन अब फुटिसकेको टिप्पणी गरेका छन् ।
आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष दाहालले सरकारले महिनौँदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै सरकारको असक्षमता र अहंकारप्रति तीव्र आलोचना गरे ।
उनले वर्तमान सरकार गठन भएको दस महिना बितिसक्दा पनि सुधार गर्ने कुनै संकेत नदेखिएको उल्लेख गर्दै यो सरकार सुधारका लागि नभई निश्चित वर्गको स्वार्थ पूरा गर्न बनाइएको दाबी गरे । उनका अनुसार सरकार सञ्चालन संयन्त्रका सदस्यहरू स्वयंले प्रधानमन्त्रीको शयन कक्षसम्म बिचौलियाहरू पुग्ने गरेको अभिव्यक्ति दिनु स्वयंमा गम्भीर आरोप हो, जसले सरकारको स्वार्थ समूहप्रतिको झुकाव पुष्टि गर्छ।
उनले भने, 'यो दश महिनामा सरकार सुध्रिएन, सुध्रिन पनि चाहेन। किनभने सुधारको लागि यो सरकार बनेकै थिएन। यो त एउटा निश्चित वर्गको स्वार्थ पूरा गर्न बनाइएको थियो। त्यति बेला मैले यस्ता कुरा गर्दा सत्ता गुमाएको छटपटी भन्दै टिप्पणी गरियो। तर अहिले त्यो तपाईँहरूकै भाष्य बनिसकेको छ। सरकार सञ्चालन संयन्त्रका सदस्यहरू स्वयंले प्रधानमन्त्रीको शयन कक्षसम्म बिचौलियाहरू पुग्ने भन्ने अभिव्यक्ति दिएपछि सबै प्रस्ट भएको छ। महिनौँ बितिसक्दा पनि गभर्नर नियुक्त गर्न सकिएको छैन। म हेर्दा अब दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु।'
अध्यक्ष दाहालले नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको र जनताले सार्वजनिक सेवा सहज रूपमा पाउन नसकेको गुनासो गरे । उनले सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको र सरकार गठन भएको १० महिना बितिसक्दा पनि लोकसमक्ष गरिएको ७ बुँदे सहमति कार्यान्वयनमा कुनै प्रगति नभएको उल्लेख गरे ।
