खानेपानीको अभावमा बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौं : मन्त्री यादव

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

We will end the situation of having to move settlements due to lack of drinking water: Minister Yadav

काठमाडौँ — खानेपानीको अभावमा बस्ती सार्नुपर्ने अवस्था अन्त्य गरिने खानेपानीमन्त्री प्रदीप यादवले प्रतिबद्धता जनाएका छन् । प्रत्येक नेपाली नागरिकका घर-घरमा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढिरहेको उनले बताए ।

ईलामको श्रीअन्तु सामालबुङमा आइतबार आयोजित कार्यक्रममा शुद्ध खानेपानीको अभावले देखा परेका समस्या समाधान गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको मन्त्री यादवले बताए ।

'खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजना अघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौं,' उनले भने । 

आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने योजना रहेको पनि मन्त्री यादवले बताए । 'विपद्का कारण भत्किएका खानेपानीका आयोजना र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्ने योजना रहेको छ,' उनले भने, 'म आफ्नो बाँचाअनुसार नागरिकका घर-घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउँछु ।'

अधुरा खानेपानी आयोजना सम्पन्न गर्न लागिपरेहको बताउँदै उनले थपे, 'मैले मन्त्रालय सम्हालेदेखि विगतमा अधुरा रहेका खानेपानीका आयोजना पूरा भएका छन् । सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी वितरण हुँदैछ ।'

ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाअन्तर्गत सुर्योदय नगरपालिका ४ र ५ का करिब  दुई हजार १३४  घरपरिवार र ११ हजार ७६९  जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ । यो आयोजनाको खानेपानी प्रणाली २५० घरधुरीमा जोडिएको बताइएको छ । सिद्धी खोला र श्रीअन्तु खोलाबाट पानी संकलन उक्त आयोजना सम्पन्न भएको हो ।

कान्तिपुर

Link copied successfully