सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Vikal Poudel was found corrupt in the purchase of security printing equipment, four people were acquitted

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । 

पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र दामासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ । 

त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।

विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने ठहर पनि विशेषले गरेको छ ।

कान्तिपुर

Link copied successfully