झरीपछि दाउन्ने खण्डमा सवारी साधन आवागमनमा समस्या

वैशाख २१, २०८२

नारायण शर्मा

Vehicular traffic problems in the downhill section after rain

नवलपरासी — हिजो राति २ बजेदेखि परेको झरीपछि महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडकमा यातायात आवागमनमा अवरोध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्ने बजार, विश्वकर्मा मन्दिर नजिकमा बाटो चिप्लो भएका कारण गाडी गुड्न नसकेर राजमार्ग अवरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम जान लागेका गाडी प्रहरीले दुम्कीबास, अरुखोला, चोरमारा र बर्दघाट बजारमा रोकिदिएको छ । ती बजारमा महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका सैयौं गाडी अलपत्र परेका छन् ।दाउन्नेमा एकै ठाउँमा गाडीको चाप धेरै नहोस् भनेर ती बजारमा गाडी रोकिदिएको प्रहरीले जनाएको छ । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका गाडीलाई कालीगण्डकी करिडोरको बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । 

दाउन्ने आसपासमा आइतबार बिहान २ बजेदेखि झरी परिरहेको छ । 

महेन्द्रराजमार्गको दुम्कीबास बर्दघाटबीचको १४ किलोमिटर सडक दाउन्ने पहाडमा पर्दछ । त्यहाँ राजमार्ग निर्माण गर्न भन्दै ६ वर्षअघि भत्काएको सडक मर्मतसम्भार नगर्दा धुलैधुलो छ । धुलोमा पानी परेपछि हिलो हुँदा चिप्लिएर गाडी गुड्न नसक्ने अवस्थाका कारण राजमार्ग अवरुद्ध भएको हो । 

पूर्वी नवलपरासीमा आइतबार बिहानदेखि लगातार झरी परिरहेको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully