हेटौंडामा जमिन भासिँदा हराएको गाडी अझै भेटिएन

अध्ययन गर्न भूगर्भविद् आउँदै

वैशाख २१, २०८२

प्रताप विष्ट

The vehicle that was lost due to landslides in Hetaunda has not yet been found

हेटौंडा — हेटौंडामा शुक्रबार जमिन भासिएर हराएको गाडी अहिलेसम्म पनि फेला परेको छैन । गुड्दागुड्दै सडक भासिएपछि बोलेरो भ्यानका चालक र सहचालक निस्किएर ज्यान जोगाउन सफल भएका थिए । 

आइतबार उक्त घटनाका बारेमा हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमेतको सहभागितामा समितिको बैठक बसेको हो । बैठकले भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने  निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताइन् ।  उक्त क्षेत्रमा अहिले आउजाउ बन्द गर्ने निर्णयसमेत विपद् समितिले गरेको छ । 

हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको भ्यान जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार एक्कासि सडक भासिदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । शनिबार दिनभर पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य गरिएको थियो । तर गाडी फेला पार्न सकिएन प्रवक्ता अर्यालले भने । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully