नवलपरासी — हिजो रातिदेखिको झरीले सडकमा पहिरो खसेर पहाडी कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ हिउँदे खोला नजिकै पहिरो खसेर आइतबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार कालीगण्डकी करिडोर अन्तर्गत उक्त खण्डमा लगातार लेदो माटो खसेकोले घटनास्थलमा प्रहरी नायब निरीक्षकको टोली पठाइएको छ । कालीगण्डकी करिडोर हुँदै ओहोरदोहोर गर्ने गाडी रोकिदिएको प्रहरीले जनाएको छ ।
यता महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा राजमार्ग अवरुद्ध हुँदा साना गाडी यही कालीगण्डकी करिडोर हुँदै ओहोरदोहोर गर्छन् ।
गैंडाकोट हुँदै पूर्वी नवलवरासीको पहाडी भूभाग पाल्पाको रामपुर र पिपलडाँडा हुँदै यो राजमार्ग बुटवल स्याङ्जा सडकमा जोडिन्छ ।
