काठमाडौँ — अक्सर घरमा एक्लै बसेपछि टोल समाजमा यताउती गरिराख्थे धादिङको गजुरी गाउँपालिका-२ का चुडामणि कँडेल । केही दिनदेखि उनको घरमा चलमल नदेखिएपछि स्थानीयले प्रहरीमा खबर गरे । २७ चैतको राति १० बजेतिर प्रहरी आएर हेर्दा थाह भयो, अट्याच बाथरूमभित्र भुइँमा लडेको अवस्थामा देखियो ।
तर शरीर रगताम्य देखेपछि प्रहरीले निष्कर्ष निकाल्यो, उनलाई कसैले मारेको हो ।
छोरीसहित काठमाडौंमा बस्ने श्रीमतीले नै चुणामणिको हत्या गरेको हुनसक्ने आशंका गाउँमा फैलियो । किनकि केही महिनायता चुडामणिले श्रीमती ठिक नभएको भन्नेजस्तो गुनासो स्थानीय केहीसँग गर्दै आएका थिए । हत्याको अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय धादिङले प्रदेश प्रहरी कार्यालयबाट कुकुर र प्राविधिक टोली मगाएर अनुसन्धान सुरु गर्यो । त्यसपछि पो खुल्यो, चुडामणिको हत्याको प्रपन्च अरु कसैका कारण नभएर उनी आफैंले सुरु गरेका रहेछन् ।
चुडामणिको हत्यामा संग्लन रहेको भन्दै प्रहरीले आइतबार मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई धादिङको डुँडेठाँटी बस्दै आएका अक्कलबहादुर प्रजा, उनका भान्जा पर्ने २५ वर्षीय पृथलाल थिङ र ज्वाइँ पर्ने सन्चलाल मुक्तानलाई पक्राउ गरेर सार्वजनिक गर्यो । प्रहरीले वैशाख ३ मा अक्कल र १६ मा मकवानपुरको मनहरीबाट अरु दुईलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार चुडामणिले लामो समयदेखि श्रीमतीलाई मार्ने योजना बनाएको देखिन्छ । त्यसका लागि उनले सहयोग लिएका थिए, आफ्नै जग्गा भाडामा लिई खेतीपाती गरिरहेका अक्कलबहादुरसँग । जग्गा बेच्ने सम्झौतापछि हात परेको बैना रकम उनले श्रीमतीको हत्यामा प्रयोग गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार चुडामणिले श्रीमती मार्नका निम्ति ०८१ पुसमा अक्कलसँग चार लाखमा ‘डिल’ गरेका थिए । त्यसका लागि सुरुमा उनले १६ हजार ६ सय रुपैयाँ सुरुमै बैना स्वरुप दिएका थिए । गत चैतमा काठमाडौंबाट फर्केर चुडामणिले काम छिनोफानो गर्न भन्दै अक्कललाई बाँकी ३ लाख ८२ हजार रुपैयाँ दिए । तर पैसा बुझे पनि भनेअनुसार काम गर्न नसकेपछि चुडामणिले उनीलाई बारम्बार धम्काउने र दबाब दिन थालेका थिए ।
प्रहरीका अनुसार अक्कलले यो काम फत्ते पार्न भान्जा पर्ने पृथलाल र ज्वाइँ पर्ने सञ्चलालसँग मिलेर योजना बनाएका थिए । तर चार पटकको प्रयासमा पनि उनीहरुले योजना फत्ते पार्न सकेनन् । यता चुडामणिले कि काम भनेअनुसार गर्न नभए पैसा फिर्ता गर्न दबाब दिन थाले । त्यसपछि अक्कलले चुडामणिलाई नै मार्ने योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
जिल्ला प्रहरी कार्यलय धादिङका डीएसपी सुवास हमालका अनुसार अक्कलबहादुर सहितको टोली घरमै आएर चुडामणिको हत्या गरेको थिए । प्रहरीका अनुसार उनीहरुले सुरुमा चुडामणिको ट्वाईलेट हेर्ने बहानामा भित्र लगेर मुक्का हानेको र बेहोस भएपछि लात्तीले हानेर घाँटीमा डोरी कसी झुन्ड्याएको र अन्तिममा कोदालोले प्रहार गरेको देखिन्छ । अक्कलबहादुरले भने घर बाहिर बसेर निगरानी गरेको देखिन्छ ।
हत्यापछि तीनैजनाले ३ लाख ८२ हजार रुपैयाँ बाँडेर लिएका थिए । त्यसपछि अक्कलबहादुर गाउँमा गएर लुकेका थिए भने पृथ र सन्चलाल पूर्वतिर भाग्न बस चढेका थिए । प्रहरीले अक्कलको घरबाट एक लाख रुपैयाँ र चुडामणिको मोबाइल फुटेको अवस्थामा बरामद गरेको छ ।
