अनिर्वाचित सत्ता स्वीकार्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

वैशाख २०, २०८२

कमलेश ठाकुर

Unelected power is not acceptable: Senior Vice President Pokharel

जनकपुरधाम — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनिर्वाचित सत्ता र वंश परम्परालाई स्वीकार नगर्ने बताएका छन् । जनकपुरधाममा शनिबार एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कुनै पनि नाममा वंश परम्परा र अनिर्वाचित सत्ता एमालेले स्वीकार नगर्ने बताएका हुन् ।

‘म पनि श्री ५ र नाती पनि श्री ५ हुने व्यवस्थाविरुद्ध नेकपा एमाले एक्लै भए पनि लड्छ,’ उनले भने,‘र, उनलाई पराजित गर्छ ।’ 

कांग्रेससँग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध रहेको उल्लेख गर्दै उनले संविधान जारी गर्ने बेला र अहिले पनि त्यस्तै सहकार्यको सम्बन्धमा रहेको उल्लेख गरे । मादल, हर्मोनियम बजाउँदा सुनिने मिठो आवाजजस्तै कांग्रेससँग अहिलेको सम्बन्ध रहेको उल्लेख गर्दै उनले  सहकार्य गर्दा प्रतिस्पर्धालाई ध्यानमा राख्नु पर्ने बताए । 

यही वैशाख २२ सम्म चल्ने अधिवेशनमा ६ सय ५० प्रतिनिधि छनौट भएको छ । जसले पाँच जना प्रमुख पदाधिकारीसहित एक सय ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छन् । जिल्ला अध्यक्षका लागि मुख्य रुपमा चार जना अकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव र सन्तोष यादव मुख्य आकांक्षी देखिएका हुन् । यादव गत निर्वाचनमा कांग्रेस त्यागेर एमालेमा प्रवेश गरेका थिए । उनी सो समय कांग्रेस उपसभापति थिए । पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully