गुल्मी — माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी क्रान्तिको यात्रा पूरा गर्नुपर्ने बताएका छन् । अहिलेको समाजलाई समाजवादी समाज, समाजवादी व्यवस्था, आधुनिक र वैज्ञानिक प्रकारको समाजवादी क्रान्तिको यात्रा पूरा गर्नुपर्ने बताएका हुन् ।
माओवादी केन्द्र गुल्मी जिल्लाको मालिका गाउँपालिकाको तेस्रो पालिका सम्मेलन तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले देशमा आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताएका थिए । ‘कृषिबाट आत्मनिर्भर हुनुपर्छ, युवालाई रोजीरोटी देशमै चाहिन्छ,’ उनले भने, ‘समाजवादी क्रान्तिको यात्रा अनिवार्यता छ ।’
उनले शिक्षा, स्वास्थ्य र आर्थिक जीवनमा जनतालाई माथि उठाउन माओवादी केन्द्रले काम गर्ने बताए । विभिन्न आन्दोलन र परिवर्तनले हालको अवस्था आएको तर अझै पनि कार्यभार पूरा नभएकोले थप सशक्त भएर समाजवादको यात्रामा लाग्नुपर्ने उनले बताए । उनले समाजवादी क्रान्तिको यात्रालाई सबल र सफल बनाएपछि मात्र आर्थिक सामाजिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
अधिवेशनबाट महेन्द्र विश्वकर्माको अध्यक्षतामा ४५ सदस्यीय मालिका गाउँ कमिटी गठन भएको छ ।
