मुलुकको शासन प्रणाली अत्यन्तै महँगो भयो : नेता साउद

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

The country's governance system has become very expensive: Leader Saud

काठमाडौँ — कांग्रेसका नेता एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै महँगो भएको बताएका छन् । पोखरामा शनिबार कास्की कांग्रेस, क्षेत्र नम्बर–२ को दोस्रो क्षेत्रीय सम्मेलन सम्बोन्धन गर्दै उनले महँगो शासन प्रणालीलाई जनताले ब्यहोर्न नसक्ने बताए ।  

‘धेरै एक्सपेन्सिभ भयो राज्य प्रणाली । नेपाली जनताले यति ज्यादा महँगो शासन प्रणाली व्यहोर्न सक्दैनन्,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘शासन प्रणालीमा जति साधारण खर्च बढ्छ त्यति विकासका सम्भावना कम हुन्छन् । किनभने विकास खर्च त्यति घट्छ ।’ उनले संविधान संशोधन गरेर शासन प्रणालीमा हुने खर्च घटाउने विषयतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेता साउदले सरकार सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको पनि टिप्पणी गरे । सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा केन्द्रित भए प्राथमिक दायित्व निर्वाह गर्न नसक्ने उनको भनाइ थियो ।  

‘संविधानमा परिमार्जन गर्नेतिर दुईतिहाइको सरकार जाला भनेर हामीले सोचेका थियौँ । तर, सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको देखिन्छ,’ उनले भने, ‘काममा जानुपर्ने सरकार, जनतालाई राहत दिनुपर्ने सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा मात्रै गयो भने आफ्नो प्राथमिक दायित्व निर्वाह गर्न सक्दैन ।’

संसद्‍‌भित्र र बाहिर आफूहरू सरकारको बचाउमा लागिरहेको भन्दै उनले वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय वस्तु बनाउनुपर्छ भन्ने मान्यता राखेरमात्रै सरकारका कमीकमजोरीबारे बोल्ने गरेको बताए । 

कान्तिपुर

Link copied successfully