काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले नयाँ पुस्तालाई जलवायु परिवर्तनको विश्व चुनौतिसँग जुध्न सक्ने सक्षम बनाउन पाठ्यक्रममै यस सम्बन्धी शिक्षा समावेश गरिनुपर्ने माग गरेका छन् ।
उनले पछिल्लो पटक जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषणकको समस्या विश्व चुनौतीका रुपमा देखा परेको भन्दै युवा जनशक्तिले त्यसको सामना गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् ।
‘विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ । यी तीन वियको सन्तुलनमा ध्यान नदिए भोलि विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ,’ महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको 'युथ भिजन २०३५ मा युवा सरोकार’ विषय छलफलमा भने ।
जनसंख्या वृद्धि र औद्योगिक विकासले जलवायु परिवर्तनको असर देखा परिरहेको भन्दै उनले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित भइरहेको बताए । ‘नेपाल मात्र होइन, विश्व नै संकटमा धकेलिएको छ । यस्ता चुनौतीको सामना गरेर अघि बढ्नका लागि युवाहरुलाई शिक्षा दिँदा पनि त्यसैको आधारमा हुनु पर्छ ।’ उनले सर्टिफिकेट धितो राखेर ऋण पाउने सरकारी नीतिको कार्यान्वयन नहुँदा र युवा स्वरोजगार कार्यक्रमले प्रभावकारी काम नगर्दा युवाहरुको पलायन बढेको बताए ।
नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले प्राकृतिक संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनले बताए ।
