नवलपरासी — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा पूरै असफल भएको बताएका छन् ।
'दुई ठूला दलको सरकार निर्माण हुँदा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो । त्यसमा सरकार पूरै असफल भएको छ,' उनले भने ।
अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै अर्को नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्ने पर्नेमा गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति गर्न सकेको सरकारले सुशासन कायम गर्न नसक्ने उनले बताए । भने, 'एउटा गभर्नर समयमा दिन नसक्ने सरकारले अरू के कुराको सुशासन दिन सक्छ भनेर अपेक्षा गर्ने ?'
सरकारमा नेपाली कांग्रेस सामेल भएपनि एमाले अध्यक्षको नेतृत्वमा सरकार रहेकाले त्यसको मुख्य जिम्मेवारी एमालेको हुने कोइरालाले जिकिर गरे ।
नेपाल प्रेस युनियन नवलपुर शाखाले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको महाधिवेशन आउँदो मंसिरभित्र सम्पन्न हुनै पर्नेमा जोड दिए । उनले भने, 'कांग्रेसको अधिवेशन सार्न मिल्दैन । सार्नपर्ने खास कारण पनि केही छैन । महाधिवेशन मंसिर २० भित्र हुननसके पार्टी सकिन्छ । महाधिवेशन सार्न पर्ने वा तोकिएकै समयमा महाधिवेशन गर्न नसकिने कुनै अवस्था छैन ।'
